बिर्तामोड, ११ मंसीर । नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय संगठन विभाग प्रमुख वर्षमान पुन ‘अनन्त’ मंसिर १५ गते झापा आउने भएका छन् । पार्टीले सञ्चालन गरिरहेको दुईमहिने ‘राष्ट्रिय जागरण अभियान’ अन्तर्गत झापामा आयोजना हुने जिल्लाव्यापी कार्यक्रममा सहभागी हुन पुन झापा आउन लागेका हुन् ।
पुनको सहभागितामा हुने कार्यक्रममा जिल्लामा क्रियाशील पार्टीका सबै जनवर्गीय संगठन तथा मोर्चाका प्रतिनिधिहरू सहभागी हुने पार्टीका केन्द्रीय सदस्य तथा झापा सहइञ्चार्ज सीपी कडरियाले जानकारी दिए ।

पार्टीका जिल्ला संयोजक खड्ग तिम्सिना ‘पवन’का अनुसार कार्यक्रम मंसिर १५ गते बिहान ११ बजेदेखि बिर्तामोड पश्चिम स्टेण्ड दक्षिणस्थित सीपी पार्टी प्यालेसमा सञ्चालन हुनेछ ।
राष्ट्रिय जागरण अभियानअन्तर्गत झापाका सबै स्थानीय तहमा केन्द्रीय तहका नेताहरूको संयोजकत्वमा विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन् । अभियानले पार्टी संगठन सुदृढीकरणसँगै जनताका समस्या, माग र जनजीविकाका सवाललाई प्राथमिकताका साथ उठान गर्ने लक्ष्य लिएको छ ।
नेता पुनको सहभागितामा हुने जिल्लास्तरीय कार्यक्रमले पार्टीका नेता, कार्यकर्ता तथा विभिन्न जनवर्गीय संगठनबीच समन्वय र सहकार्य विस्तार गर्नुका साथै संगठनात्मक गतिविधिलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।
नेपाली कम्युनिस्ट पार्टीले गत कात्तिक ७ गतेदेखि देशव्यापी रूपमा सुरु गरेको राष्ट्रिय जागरण अभियान आगामी मंसिर २५ गतेसम्म सञ्चालन हुनेछ । अभियानका क्रममा सदस्यता नवीकरण तथा विस्तार, संगठन सुदृढीकरण, जनताका समस्या र माग संकलन तथा स्थानीय तह र प्रदेशसभा निर्वाचनको तयारीलाई प्राथमिकतामा राखिएको पार्टीले जनाएको छ ।

