झापा, ११ मंसिर । तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद्को १५औँ केन्द्रीय पार्षदसभा शनिबारदेखि सुनसरीको इटहरीमा आयोजना हुने भएको छ ।
‘हाम्रो गौरव, अमूल्य सम्पदा हाम्रो पहिचान, संरक्षण र पुस्तान्तरणका लागि १५औँ पार्षदसभा अभियान’ भन्ने मूल नारासहित आयोजना हुन लागेको सभाको उद्घाटन गृहमन्त्री सुदन गुरुङले गर्ने कार्यक्रम रहेको परिषद्ले जनाएको छ ।

परिषद्ले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा हुने उद्घाटन समारोहमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की विशिष्ट अतिथिका रूपमा सहभागी हुनेछन् । कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको समेत उपस्थिति रहनेछ ।
परिषद्का अनुसार सभामा सातवटै प्रदेश कार्यसमिति, ६८ जिल्ला कार्यसमिति, मातृसंस्थाका प्रतिनिधि, अनुसूची–७ अन्तर्गतका प्रतिनिधि तथा पेसागत र विशेष संस्थाका प्रतिनिधिसहित करिब ३२० जनाको सहभागिता रहनेछ । परिषद्को केन्द्रीय समितिको आयोजनामा तथा सुनसरी जिल्ला कार्यसमितिको व्यवस्थापनमा कार्यक्रम हुन लागेको हो ।
पार्षदसभामा गुरुङ समुदायको पहिचान, भाषा, संस्कृति, परम्परा र ऐतिहासिक सम्पदाको संरक्षण तथा पुस्तान्तरणका विषयमा विशेष छलफल हुनेछ । साथै, समुदायमा रहेका विभिन्न जातीय, पेसागत तथा अन्तर्राष्ट्रिय संस्थाहरूलाई परिषद्को संरचनामा समेट्ने, केन्द्रीय समितिको संरचनामा आवश्यक हेरफेर गर्ने र विधान संशोधनका प्रस्तावमाथि छलफल गरिने परिषद्ले जनाएको छ ।
त्यसैगरी प्रदेश, जिल्ला तथा स्थानीय तहमा रहेका गुरुङ समुदायका संस्था र संरचनाहरूको पहिचान गरी तिनको व्यवस्थित सञ्चालनका विषयमा समेत छलफल हुनेछ ।
परिषद्ले गुरुङ समुदायको भाषा, संस्कृति र इतिहासको अध्ययन तथा संरक्षणका लागि विभिन्न स्थानमा स्रोत केन्द्र र संग्रहालय स्थापना गर्ने अवधारणासमेत अघि सारेको छ । जसअनुसार कोशी प्रदेशमा रोदी स्रोत केन्द्र तथा संग्रहालय, बागमती प्रदेशको चितवनमा खेमा स्रोत केन्द्र तथा संग्रहालय र गण्डकी प्रदेशको कास्कीमा तमु अन्तर्राष्ट्रिय सांस्कृतिक स्रोत केन्द्र तथा संग्रहालय निर्माण गर्ने विषयलाई सभामा नीतिगत छलफलका रूपमा अघि बढाइनेछ ।
नेपालका विभिन्न गुरुङ संघसंस्था तथा विदेशमा रहेका गुरुङ समुदायका संस्थाहरूलाई समेत समेटेर साझा पहिचान, एकता, अधिकार र सांस्कृतिक सम्पदाको संरक्षणमा परिषद्को भूमिकालाई थप प्रभावकारी बनाउने लक्ष्य राखिएको विज्ञप्तिमा उल्लेख छ ।
परिषद्का महासचिव अधिवक्ता राजु गुरुङद्वारा जारी विज्ञप्तिमा देशभरका तमु महानुभाव तथा सम्बन्धित संघसंस्थाका प्रतिनिधिहरूलाई उद्घाटन समारोहमा उपस्थितिका लागि आग्रह गरिएको छ ।
शनिबार मङ्सिर १२ गते उद्घाटन हुने पार्षदसभा आइतबार मङ्सिर १३ गते संस्थाको घोषणापत्र सार्वजनिक गर्दै सम्पन्न हुनेछ ।

