
झापा, १९ भदौ । वैदिक सनातन धर्मावलम्बीले भगवान् श्रीकृष्णको पूजाआराधना, भजनकीर्तन र व्रत बसेर श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर श्रद्धा भक्तिपूर्वक मनाउँदैछन् । पर्वका अवसरमा कृष्णमन्दिरहरूमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।
द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भगवान् श्रीकृष्णको जन्म भएको धार्मिक विश्वासअनुसार आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई ‘मोहरात्रि’ भनिन्छ। यस अवसरमा देशभरका कृष्णमन्दिरमा विशेष पूजाआराधना, प्रवचन, भजनकीर्तन तथा धार्मिक कार्यक्रम आयोजना गरिन्छ ।
श्रीकृष्णको जन्म अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट मानव समुदायको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा भएको धार्मिक मान्यता छ । श्रीकृष्णले सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको धार्मिक ग्रन्थहरूमा उल्लेख छ ।
कुरुक्षेत्रमा कौरवसँगको युद्धका क्रममा अर्जुनलाई श्रीकृष्णले दिएको उपदेश ‘श्रीमद्भागवतगीता’ हिन्दू धर्मावलम्बीको प्रमुख पवित्र ग्रन्थका रूपमा मानिन्छ । छोटकरीमा ‘गीता’ भनेर चिनिने यस ग्रन्थलाई विश्वका धेरै भाषामा अनुवाद गरिएको छ ।
पौराणिक कथाअनुसार बाल्यकालदेखि नै विभिन्न लीला देखाउँदै आएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गरेका थिए ।
यस अवसरमा ललितपुरको मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिरमा विशेष मेला लाग्ने गर्छ । यस्तै, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकास्थित नवतनधाममा पनि ठूलो सङ्ख्यामा भक्तजन पुग्ने गर्छन् । राजधानीका विभिन्न कृष्णमन्दिरमा समेत विशेष पूजाआराधना र धार्मिक कार्यक्रम आयोजना भइरहेका छन् ।
श्रीकृष्ण जन्माष्टमीका अवसरमा काठमाडौंलगायत विभिन्न स्थानमा कृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रासमेत निकाल्ने गरिन्छ । पर्वका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।


