
झापा, १९ भदौ । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद एवं इन्जिनियर श्रीराम न्यौपानेका अनुसार सुरुङभित्र फसेका सञ्जय साह र कविर महर्जनको जीवितै उद्धार गरिएको हो।
उद्धार गरिएका महर्जन त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाका सुपरभाइजर हुन् भने साह नेपाल विद्युत् प्राधिकरणका चौथो तहका कर्मचारी हुन्।
नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले विदेशी उद्धारकर्मीको सहयोगमा उनीहरूको उद्धार गरेको हो।
यसअघि उद्धार टोली र सुरुङभित्र फसेका व्यक्तिबीच दोहोरो संवादसमेत भएको थियो। उद्धार टोलीले सुरुङभित्र रहेका व्यक्तिलाई ‘नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौँ’ भन्दै ढाडस दिएको थियो। त्यसको जवाफमा सुरुङभित्रबाट ‘हुन्छ’ भन्ने स्पष्ट प्रतिक्रिया आएको थियो।
सुरुङभित्र अझै अन्य व्यक्ति फसेको आशंकामा नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले खोजी तथा उद्धार कार्य जारी राखेको छ। सांसद न्यौपानेका अनुसार अन्य व्यक्तिको उद्धारका लागि समेत टोलीले निरन्तर प्रयास गरिरहेको छ।


