
मोरङ, २० भदौ । विराटनगरमा सार्वजनिक स्थलमा विद्यालय पोशाकमा हिँडिरहेका दुई युवतीलाई अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी मकेन्द्रकुमार मिश्रका अनुसार विराटनगर महानगरपालिका–९, महेन्द्रचोकमा शुक्रबार दिउँसो मोटरसाइकलमा सवार दुई पुरुषले सडकमा हिँडिरहेका दुई युवतीलाई अभद्र व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमार्फत प्राप्त भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।
भिडियोमा देखिएका व्यक्तिको खोजी गर्ने क्रममा प्रहरीले विराटनगरबाट दुई जनालाई पक्राउ गरेको मिश्रले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–४ का ३५ वर्षीय महेशकुमार मण्डल र बारा, परवानीपुर गाउँपालिका–१ घर भई हाल विराटनगरमा बस्दै आएका ३३ वर्षीय अखिलेशकुमार प्रसाद रहेका छन् ।
उनीहरूमाथि अभद्र व्यवहारसम्बन्धी मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।


