
सृजन अधिकारी
२०८२ साल भदौ २३ र २४ गते नेपालले केवल एउटा आन्दोलन देखेन, एउटा पुस्ताको आक्रोश, पीडा, आशा र परिवर्तनको चाहना पनि देख्यो। ती दुई दिनका घटना सम्झिँदा आज पनि मन भारी हुन्छ। सडकमा देखिएका दृश्य, दौडिरहेका युवाहरू, गोलीको आवाज, धुवाँको मुस्लो, आगोमा जलिरहेका संरचना र सडकमा छोडिएका सामानमध्ये रगतले लतपतिएको एउटा जुत्ता—यी सबै सम्झनामा अझै ताजै छन्।

भदौ २३ गते म कामविशेषले बाहिर थिएँ। त्यस दिन विद्यार्थी तथा युवाहरू घाइते भएका र ज्यान गुमाएका घटनाबारे जानकारी पाएपछि मनमा एउटै चिन्ता थियो—यदि भदौ २४ गते फेरि कोही घाइते भयो भने तत्काल अस्पताल पुर्याउन नसक्दा उसको ज्यान जान सक्छ। त्यसैले हामी आफ्ना भाइबहिनीहरूलाई जोगाउन सडकमा निस्किएका थियौँ। हाम्रो उद्देश्य आन्दोलनलाई उग्र बनाउनु होइन, सम्भावित मानवीय क्षति रोक्नु थियो।
भदौ २४ गते बिर्तामोडको मुक्तिचोकमा युवाहरूको विशाल उपस्थिति थियो। भीड इलाका प्रहरी कार्यालयतर्फ जाने तयारीमा थियो। हामीले सामूहिक पहल गरेर उनीहरूलाई त्यसतर्फ जानबाट रोक्ने प्रयास गर्यौँ। त्यो क्षण आज पनि मेरो सम्झनामा ताजै छ। केही समयपछि भीड पश्चिमतर्फ मोडियो र हामी पनि प्रदर्शनको अगाडिको भागतिर सडकमा थियौँ।
बिहान करिब ११ः१५ बजेको हुनुपर्छ। हामी भाटभटेनी पुग्नै लागेका थियौँ। केही प्रदर्शनकारीले भाटभटेनीमा तोडफोड गर्ने प्रयास गरे। हामीले फेरि मानवसाङ्लो बनाएर त्यसलाई रोक्यौँ। त्यो बेला पनि हाम्रो मनमा एउटै कुरा थियो—आन्दोलनको नाममा सर्वसाधारणको सम्पत्ति नष्ट हुनु हुँदैन।
तर जब भीड भगवान्चोकबाट दक्षिणतर्फ मोडियो र गौरीशंकर खड्का स्मृति प्रतिष्ठानमा तोडफोड भयो, त्यसपछि परिस्थिति नियन्त्रणबाहिर जान थालेको अनुभूति भयो। भीडको स्वरूप बदलिँदै गएको थियो। जब यातायात व्यवस्था कार्यालय, बिर्तामोडमा आक्रमण, तोडफोड र आगजनी सुरु भयो, मैले त्यो प्रदर्शनबाट अलग हुने निर्णय गरेँ।
हामी बिर्तामोड नगरपालिकाबाट करिब पाँच सय मिटर पश्चिममा रहेको एउटा चिया पसलमा पुगेर बस्यौँ। त्यहाँबाट नगरपालिकामा भएको तोडफोड निरीह साक्षी बनेर हेर्नुपर्यो। केही समयपछि भीड बिर्तामोड नगरपालिका–४ को वडा कार्यालयतर्फ पुग्यो। त्यसपछि इलाका प्रहरी कार्यालय बिर्तामोड र जिल्ला ट्राफिक प्रहरी कार्यालयमा समेत तोडफोड तथा आगजनी भएको खबर आयो। त्यहाँ केही युवाले प्रहरीको गोलीबाट ज्यान गुमाएको खबरले मन झन् स्तब्ध बनायो।
पछि इलाका प्रहरी कार्यालय ध्वस्त पारिएको र त्यहाँ रहेका हतियारसमेत लुटिएको खबर फोनमार्फत थाहा पायौँ। मुक्तिचोकमा केही हतियार प्रदर्शनमा राखिएको र केही व्यक्ति हतियार बोकेर भाटभटेनीतर्फ गएको खबर पनि आयो। अन्ततः हतियारसहित केही प्रदर्शनकारी भाटभटेनी पुगेपछि हामीले त्यहीँबाट भाटभटेनी जलिरहेको दृश्य देख्यौँ।
भदौ २३ र २४ का ती घटनाले मलाई एउटा गम्भीर पाठ सिकाएको छ—परिवर्तन आवश्यक छ, तर परिवर्तनको बाटो मानव जीवन र सामाजिक सम्पत्तिको विनाश हुँदै जानु हुँदैन। आन्दोलनको सुरुआती भावना र त्यसपछि विकसित भएको अराजकता एउटै कुरा होइनन्। युवाहरूले उठाएका प्रश्न जायज थिए; तर ती प्रश्नको उत्तर खोज्ने बाटो शान्ति, लोकतन्त्र, विधिको शासन र जवाफदेहितामै हुनुपर्छ।
ती घटनापछि नेपालले राजनीतिक संक्रमणको अर्को अध्याय पार गर्यो। पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भयो, जसको प्रमुख कार्यादेश निर्वाचनमार्फत लोकतान्त्रिक सरकार निर्माण गर्नु थियो। त्यसपछि २०८२ फागुन २१ गते भएको निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा नयाँ राजनीतिक शक्ति अगाडि आयो र बालेन्द्र शाह प्रधानमन्त्री बने।
आज युवाको नेतृत्वमा बनेको सरकारप्रति जनतामा ठूलो अपेक्षा छ। यो अपेक्षा केवल नयाँ अनुहार हेर्ने अपेक्षा होइन; यो पुरानो राजनीतिक संस्कार बदलिने, भ्रष्टाचार नियन्त्रण हुने, राज्यका निकाय जवाफदेही बन्ने, सेवा प्रवाह सहज हुने र जनताको आवाज सरकारका निर्णयको केन्द्रमा रहने अपेक्षा हो।
अबको परीक्षा सरकारको हो। भदौ २३ र २४ मा सडकमा निस्किएको युवापुस्ताले परिवर्तन खोजेको थियो। त्यसैले अहिलेको नेतृत्वले त्यो बलिदानलाई केवल राजनीतिक उपलब्धिमा सीमित गर्नु हुँदैन। जनताले खोजेको परिवर्तन व्यवहारमा देखिनुपर्छ। निर्णय गर्दा जनताको पक्षमा, काम गर्दा पारदर्शिताका साथ र शासन गर्दा संविधान तथा विधिको सीमाभित्र रहेर अघि बढ्न सक्नुपर्छ।
हामीले भोगेको त्यो दिन फेरि कहिल्यै नआओस्। कुनै आमाबुबाले आफ्ना छोराछोरी सडकमा गएपछि फर्केर आउँछन् कि आउँदैनन् भनेर डराउन नपरोस्। कुनै युवा गोलीको सिकार नहोस्। कुनै व्यवसायीले वर्षौँको मेहनतले बनाएको पसल आफ्नै आँखाअगाडि जलिरहेको हेर्न नपरोस्। कुनै सार्वजनिक सम्पत्ति क्षणभरको आवेगमा खरानी नहोस्।
भदौ २३ र २४ हाम्रो इतिहासका केवल दुई मिति होइनन्; ती चेतावनी हुन्। ती दिनले परिवर्तनको मूल्य पनि सम्झाउँछन् र परिवर्तनको जिम्मेवारी पनि।
अब देशले अर्को आन्दोलन होइन, सुशासनको परिणाम खोजिरहेको छ। सडकमा उठेको आवाज अब सिंहदरबारका निर्णयमा सुनिनुपर्छ। युवाको बलिदान अब युवाको भविष्य निर्माणमा परिणत हुनुपर्छ।
रगतले भिजेको त्यो जुत्ताले हामीलाई सधैँ सम्झाइरहोस्—देश बदल्नुपर्छ, तर देश जलाएर होइन; व्यवस्था सुधार्नुपर्छ, तर मान्छे मारेर होइन।
२०८२ साल भदौ २३ र २४ गतेजस्तो दिन यो मुलुकले फेरि कहिल्यै भोग्न नपरोस्।
बिर्तामोड, झापा


