
झापा, २६ भदौ । नेपाल दशनामी समाज अर्जुनधारा–११ बचत कार्यक्रमको पाँचौँ साधारणसभा तथा दोस्रो अधिवेशनले राधेश्याम गिरीको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।
बिहीबार अर्जुनधारा–११ मा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा विष्णुप्रसाद गिरी, सचिवमा सुनिता गिरी भारती र कोषाध्यक्षमा लक्ष्मी भारती चयन भएका छन्। सदस्यहरूमा टंकप्रसाद गिरी, तुलसा घिमिरे गिरी र बिनिता गिरी सर्वसम्मत निर्वाचित भएका हुन्।
उद्धव पुरीको संयोजकत्वमा गठित निर्वाचन मण्डलीमा शारदा गिरी र प्रेमबहादुर पुरी सदस्य रहेका थिए। निर्वाचन समितिले पदाधिकारी तथा सदस्यहरूलाई सर्वसम्मत निर्वाचित गरेको हो।
बचत कार्यक्रमका अध्यक्ष राधेश्याम गिरीको अध्यक्षता तथा नेपाल दशनामी समाज कोशी प्रदेशका निवर्तमान अध्यक्ष एवं ओम नमः शिवाय बचत तथा ऋण सहकारी संस्थाका सचिव चन्द्रप्रसाद गिरीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो।
सभामा अध्यक्ष गिरीले संस्थाको सांगठनिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरे। ३४ जना सदस्य रहेको बचत कार्यक्रमले दशनामी बन्धुहरूको सुख–दुःखमा साथ र सहयोग गर्दै आएको जनाइएको छ।
प्रतिवेदनअनुसार २०७९ सालको साधारणसभामा बचत समूहमा रहेको १८ लाख ६७ हजार १७५ रुपैयाँबाट सदस्यहरूलाई जनही २८ हजार ८६३ रुपैयाँका दरले बोनस वितरण गरिएको थियो। २०७९ सालपछि सदस्यहरूले १ लाख ७० हजार रुपैयाँ थप बचत गरेका छन्। हाल समूहको बचत ६ लाख ६७ हजार १७५ रुपैयाँ पुगेको अध्यक्ष गिरीले जानकारी दिए।
कार्यक्रममा नेपाल दशनामी समाज कोशी प्रदेश महिला उपाध्यक्ष शारदा गिरी, रवीलाल भारती र सरस्वती भारतीलाई सम्मान गरिएको थियो। उनीहरूलाई प्रमुख अतिथि चन्द्रप्रसाद गिरी र अध्यक्ष राधेश्याम गिरीले सम्मान गरेका थिए।
कार्यक्रममा प्रमुख अतिथि चन्द्रप्रसाद गिरी, दशनामी समाज क्षेत्रीय अध्यक्ष सूर्यप्रसाद गिरीलगायतले शुभकामना मन्तव्य राखेका थिए। अध्यक्ष गिरीले आगामी दिनमा बचत कार्यक्रमलाई थप व्यवस्थित र सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरे।


