
भद्रपुर, २७ भदौ । नेपाली पत्रकारिताका वरिष्ठ पत्रकार, लेखक तथा राजनीतिक विश्लेषक युवराज गौतमको निधन भएको छ। ६७ वर्षीय गौतमको निधनले नेपाली पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति पुगेको छ।
इलामलाई मूलथलो बनाएका गौतमले झापामा रहेर आइएसम्मको अध्ययन पूरा गर्नुभएको थियो। पछिल्लो समय काठमाडौंमा रहेर पत्रकारिता, लेखन तथा अध्ययन–अनुसन्धानमा सक्रिय उहाँ आरआर क्याम्पस काठमाडौंमा पत्रकारिता अध्ययन गर्ने पहिलो ब्याचका स्नातक हुनुहुन्थ्यो। उहाँका परिवारमा पत्नी उषा गिरी गौतम र एक छोरी हुनुहुन्छ।
२०३५ सालदेखि पत्रकारितामा सक्रिय
गौतमले २०३५ सालदेखि नेपाली पत्रकारिताको यात्रा सुरु गर्नुभएको थियो। झापाको भद्रपुरबाट प्रकाशित हुने ‘विवेचना’ र ‘सूर्योदय’ साप्ताहिकबाट पत्रकारिता प्रारम्भ गर्नुभएका उहाँले पाँच दशक लामो यात्रामा नेपाली पत्रकारितामा विशिष्ट पहिचान बनाउनुभएको थियो।
समसामयिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयमा उहाँका एक हजारभन्दा बढी लेख तथा रचना प्रकाशित छन्। रेडियो, टेलिभिजन र पत्रपत्रिकामा सक्रिय गौतम नेपाली पत्रकारिताको एउटा महत्वपूर्ण कालखण्डका साक्षीका रूपमा समेत चिनिनुहुन्थ्यो।
उहाँले कान्तिपुर दैनिकका सहायक सम्पादक, गोरखापत्र दैनिकका प्रधान सम्पादक, विभिन्न साप्ताहिक पत्रिकाका सम्पादक, ‘सारथी’ साप्ताहिकका सम्पादक तथा नेपाल टेलिभिजनका समाचार सम्पादकका रूपमा जिम्मेवारी निर्वाह गर्नुभएको थियो। विभिन्न सञ्चारमाध्यममा स्तम्भकारका रूपमा समेत उहाँ परिचित हुनुहुन्थ्यो।
लेखक र राजनीतिक विश्लेषक
अनुसन्धान तथा लेखनमा विशेष रुचि राख्ने गौतम राजनीतिक विश्लेषकका रूपमा पनि स्थापित हुनुहुन्थ्यो। उहाँका ‘लाभा’ (निबन्ध संग्रह), ‘राजतन्त्र कि गणतन्त्र : तुलनात्मक अध्ययन’, ‘वीरेन्द्र स्मृति ग्रन्थ’ लगायतका कृति प्रकाशित तथा सम्पादित छन्।
पत्रकारितामा पुर्याएको योगदानका लागि उहाँले प्रबल गोरखा दक्षिण बाहु, गद्दी आरोहण रजत महोत्सव पदक, वीरेन्द्र–ऐश्वर्य पदक तथा वीरेन्द्र स्मृति पत्रकारिता पुरस्कार लगायत विभिन्न सम्मान तथा विभूषण प्राप्त गर्नुभएको थियो।
गौतमले अन्तर्राष्ट्रिय पत्रकारिता सम्मेलनमा नेपालको प्रतिनिधित्वसमेत गर्नुभएको थियो। सन् २००४ मा भारतको नयाँ दिल्लीमा आयोजित सार्क सम्पादक सम्मेलनमा उहाँले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएको थियो। आदर्श, निष्ठा र वैचारिक स्पष्टताका लागि परिचित गौतमको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक अनुभवी पत्रकार, लेखक तथा अभिभावक गुमाएको छ।


