
झापा, ३० भदौ । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेकाले आज अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको छ।
महाशाखाका अनुसार कोशी प्रदेशसहित देशका पहाडी तथा हिमाली भूभागमा सामान्यतया बदली र तराई क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहेको छ। कोशी, बागमती र लुम्बिनीका थोरै तथा गण्डकी, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकीका हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
देशका पहाडी भूभागका केही स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। यस्तै, बागमती, गण्डकी र लुम्बिनीका तराई भूभागका केही तथा मधेस, कोशी र सुदूरपश्चिमका तराई भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
यस्तै, आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई भूभागका केही स्थान तथा मधेस र सुदूरपश्चिमका तराई भूभागका थोरै स्थानमा समेत चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ। कोशी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा राति भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।


