
झापा, २९ भदौ । हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका–२ र गौरीगञ्ज गाउँपालिका–१ जोड्ने कन्काइ पुल १४ वर्षसम्म अलपत्र पार्ने पप्पु–महादेव खिम्ती जेभीलाई करिब २ अर्ब रुपैयाँ जरिवाना तिराउने भएको छ।
हुलाकी राजमार्ग निर्देशनालय इटहरी आयोजनाले सार्वजनिक खरिद ऐनअनुसार जेभीलाई १ अर्ब ९९ करोड १२ लाख ५८ हजार ७७५ रुपैयाँ राजस्व खातामा दाखिला गर्न ३५ दिने सार्वजनिक सूचना जारी गरेको हो।
आयोजनाका अनुसार यसअघि निर्माण कम्पनीले धरौटीबापत राखेको १ करोड ७१ लाख रुपैयाँको बैंक जमानत जफत गरी राजस्व खातामा जम्मा गरिसकिएको छ। कम्पनीलाई तीन वर्षका लागि कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयमा सिफारिससमेत गरिएको छ।
२०६८ जेठ ३१ गते ७२३ मिटर लामो पुल निर्माणका लागि ३४ करोड ९ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। २०७२ जेठ ३० गतेभित्र निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि पाँच पटक म्याद थप्दा समेत ५६ प्रतिशत मात्रै काम भएपछि गत वर्ष मंसिरमा ठेक्का तोडिएको थियो।
आयोजना प्रमुख युवराज पोखरेलका अनुसार अधुरो काम सम्पन्न गर्न लाग्ने थप लागत, पुरानो र हालको लागतबीचको अन्तर तथा विभिन्न जरिवाना जोडेर रकम निर्धारण गरिएको हो। तोकिएको अवधिमा रकम नबुझाए निर्माण कम्पनीको जायजेथाबाट सरकारी बाँकीसरह असुलउपर गरिनेछ।
पुल निर्माण पूरा नहुँदा झापा र गौरीगञ्जका स्थानीय वर्षायाममा जोखिमपूर्ण डुंगा र हिउँदमा अस्थायी बाँसको पुलबाट वारपार गर्न बाध्य छन्।


