
झापा, २९ भदौ । हिन्दू धर्मावलम्बी महिलाको प्रमुख पर्व हरितालिका तीज आज देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ।
भाद्र शुक्ल तृतीयाका दिन मनाइने तीजमा महिलाहरूले निराहार तथा फलाहार व्रत बसी शिव–पार्वतीको पूजा–आराधना गर्ने गर्छन्। तीजको व्रत बसेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास छ।
तीजको व्रत बस्ने महिलाले सोमबार साँझ दर खाएका थिए। दरमा विशेषगरी दूधबाट बनेका विभिन्न परिकार खाने परम्परा छ।
तीज धार्मिक पर्वसँगै महिलाले आफ्ना दुःख, पीडा, वेदना र सामाजिक अवस्थालाई गीतमार्फत व्यक्त गर्ने सांस्कृतिक पर्वका रूपमा समेत स्थापित छ। विशेषगरी जन्मघर छाडेर कर्मघरमा पुगेपछि भोग्नुपरेका दुःख र मर्कालाई महिलाले तीजका गीतमार्फत पोख्ने गरेका छन्।
पछिल्ला वर्षमा भने तीजका नाममा बढ्दो तडकभडक, उच्छृङ्खलता र खर्चिलो प्रवृत्तिप्रति गुनासो बढ्न थालेको छ।
तीजको अवसरमा काठमाडौंको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा आज महिला भक्तजनको घुइँचो लागेको छ।
पौराणिक मान्यताअनुसार हिमालयपुत्री पार्वतीले महादेवलाई पति पाउन गरेको कठोर तपस्या र व्रतसँग हरितालिका तीज जोडिएको छ। साथीहरूले पार्वतीलाई लुकाएर राखेको स्थानमा उनले निराहार व्रत गरी महादेवलाई पति रूपमा प्राप्त गरेको धार्मिक विश्वास छ। यही घटनाको स्मरणमा भाद्र शुक्ल तृतीयाका दिन हरितालिका तीजको व्रत बस्ने परम्परा सुरु भएको धर्मशास्त्रीय मत छ।


