
झापा, २९ भदौ । झापाको मेचीनगरबाट सशस्त्र प्रहरीले करिब ६ लाख ६० हजार ९ सय रुपैयाँ बराबरको अवैध लत्ताकपडा तथा जुत्ता बरामद गरेको छ।
मेचीनगर नगरपालिका–६ स्थित भन्सार ढाट सीमा इलाकाबाट भारतबाट अवैध रूपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा मंगलबार दिउँसो २ः३० बजे उक्त सामान बरामद गरिएको हो।
सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म मुख्यालय काँकडभिट्टाबाट सशस्त्र प्रहरी नायव निरीक्षक महेन्द्र गुरुङको कमाण्डमा खटिएको चार सदस्यीय बीआईटी टोली र मेची भन्सार कार्यालयका भन्सार अधिकृत पृथीराम राई नेतृत्वको संयुक्त टोलीले चेकजाँचका क्रममा सामान बरामद गरेको हो।
बरामद सामानमा ६ लाख २० हजार रुपैयाँ बराबरका १७० जोर स्पोर्टस् सुज, ३६ हजार ५ सय रुपैयाँ बराबरका ७३ थान कुर्ता र ४ हजार ४ सय रुपैयाँ बराबरका २२ थान जामा रहेका छन्।
बरामद सामानको कुल मूल्य ६ लाख ६० हजार ९ सय रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ। बरामद सामान आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरी बल, नेपाल नं। २ गण मुख्यालय झापाका सहायक गणपति सशस्त्र प्रहरी नायव उपरीक्षक जोगेन्द्र केसीले जानकारी दिनुभयो।
उहाँका अनुसार अवैध चोरी–निकासी तथा पैठारीजन्य गतिविधि नियन्त्रण गर्न सशस्त्र प्रहरीको सक्रियता निरन्तर जारी रहनेछ।


