
बिर्तामोड, १ असोज । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड (हाम्रो नेपाल साकोस) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख १० हजार २९३ रुपैयाँ सहयोग गरेको छ।
बिहीबार संस्थाका कार्यवाहक अध्यक्ष राजेन्द्र गौतमको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पुगेको टोलीले झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई उक्त रकमको चेक हस्तान्तरण गरेको हो।
गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लाका नागरिकको राहत तथा पुनर्स्थापनामा सहयोग पु¥याउने उद्देश्यले रकम प्रदान गरिएको संस्थाले जनाएको छ।
संस्थाका सञ्चालक समिति सदस्य कृष्णप्रसाद पोखरेलका अनुसार राहत रकममध्ये ५० हजार रुपैयाँ संस्थागत रूपमा उपलब्ध गराइएको हो। बाँकी रकम सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिका पदाधिकारीको एक दिनको बैठक भत्ता तथा कर्मचारीहरूको व्यक्तिगत सहयोगबाट संकलन गरिएको हो।
“सहकारी समुदायको सुखदुःखको साथी हो,” पोखरेलले भने, “प्राकृतिक विपत्तिको यस घडीमा प्रभावित नागरिकको घाउमा मलम लगाउनु र राज्यलाई सहयोग गर्नु हाम्रो सामाजिक दायित्व हो।”
चेक हस्तान्तरण कार्यक्रममा सञ्चालक समिति सदस्यहरू कृष्णप्रसाद पोखरेल, भगिरथ आले, तुलसीराम गौतम तथा लेखा सुपरिवेक्षण समिति सदस्य श्रीप्रसाद न्यौपानेलगायतको उपस्थिति थियो।
चेक ग्रहण गर्दै प्रमुख जिल्ला अधिकारी पोखरेलले विपद्का बेला संस्थाका सञ्चालक तथा कर्मचारीले व्यक्तिगत रूपमा समेत अग्रसरता देखाएर गरेको सहयोगको प्रशंसा गरे। विपद् व्यवस्थापनमा यस्ता सहयोगले राज्यलाई थप सघाउ पुग्ने भन्दै उनले संस्थाप्रति धन्यवाद व्यक्त गरे।
झापा, इलाम र मोरङमा सेवाकेन्द्र विस्तार गरी ४३ हजार ५०० भन्दा बढी सेयर सदस्यलाई वित्तीय सेवा प्रदान गर्दै आएको हाम्रो नेपाल साकोसले सामाजिक उत्तरदायित्वअन्तर्गत यसअघि पनि कोभिड–१९ महामारी, भूकम्प, आगलागीलगायतका विपद्का समयमा सहयोग गर्दै आएको जनाएको छ।


