निशान निरौला
इलाम, १ असोज । इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।
बिहीबार बिहान साधुगाउँबाट देउरालीतर्फ जाँदै गरेको प्र.१–०१–००१ ज ३७०६ नम्बरको बोलेरो भित्री सडकखण्डमा अनियन्त्रित भई पल्टिँदा देउमाई–१ चमैता निवासी करिब ३५ वर्षीय चालक तीर्थराज बस्नेत गाडीले थिचिएका थिए। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनाबारे बिहान ६ बजे प्रहरी चौकी रक्सेमा जानकारी प्राप्त भएपछि प्रहरी सहायक निरीक्षक गेहनाथ तिम्सिनाको कमाण्डमा ट्राफिकसहितको टोली घटनास्थलतर्फ गएको थियो। टोली बिहान ७ः५० बजे घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा दुर्घटनाका बेला बोलेरोमा चालक बस्नेत मात्रै सवार रहेको खुलेको छ। दुर्घटनाको कारण भने अहिलेसम्म खुल्न सकेको छैन।
घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय मंगलबारेबाट प्रहरी निरीक्षक सन्तोषकुमार राईको कमाण्डमा SOCO सहितको टोली घटनास्थलमा खटिएको छ।




