
बिर्तामोड, १ असोज । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको पूर्वेली ढुवानी सेवा प्रालिले उत्कृष्ट चालक÷सहचालकलाई सम्मान गर्दै कर्मचारी आपतकालीन कोष (स्टाफ इमर्जेन्सी फण्ड) स्थापना गरेको छ ।
आज विश्वकर्मा पूजाको अवसरमा पूर्वेली ढुवानीले प्रालिमा आबद्ध कर्मचारीलाई प्रोत्साहन गर्ने उद्देश्यले उत्कृष्ट चालक–सहचालकलाई सम्मान गर्दै स्टाफ इमर्जेन्सी फण्ड स्थापना गरेको हो । कर्मचारीलाई प्रोत्साहन गर्न सम्मान कार्यक्रमको शुरुवात र कोष स्थापना गरिएको प्रालिका अध्यक्ष निर्मलराज खत्रीले बताउनुभयो । उहाँले प्रत्येक महिना उत्कृष्ट कर्मचारी घोषणा गरी सम्मान एवम् पुरस्कृत समेत गरिने बताउनुभयो ।
बिर्तामोड–६ स्थित बुट्टाबारीमा आयोजित कार्यक्रममा तीन जना उत्कृष्ट चालक र एक जना उत्कृष्ट सहचालकलाई नगदसहित सम्मान गरेको हो । कार्यक्रममा उत्कृष्ट चालकका रुपमा नरेश मगरलाई ३१ हजार रुपैयाँ र सुवास प्रसाईंलाई २१ हजार रुपैयाँ नगदसहित सम्मान–पत्र प्रदान गरिएको थियो ।
ट्रक चालक तथा ढुवानी व्यवसायको क्षेत्रमा लामो समयदेखि योगदान पुर्याउँदै आउनुभएका तेजप्रसाद कडरियालाई नगद ११ हजार रुपैयाँसहित सम्मान गरिएको थियो भने उत्कृष्ट सहचालकका रूपमा सुजन हेम्यालाई नगद ५ हजार रुपैयाँसहित सम्मान गरिएको छ ।
व्यावसायिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकता दिँदै आएको पूर्वेली ढुवानीले बिर्तामोड नगरपालिका–६ का बोनम्यारो रोगबाट पीडित बालक १० वर्षीय साइमन हस्दाको उपचारमा सहयोग पु¥याउने उद्देश्यले ११ हजार रुपैयाँ सहयोगसमेत गरेको छ ।
पूर्वेली ढुवानी सेवा प्रालिका अध्यक्ष निर्मलराज खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा नगर उपप्रमुख संग्रौला, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, प्रेस काउन्सिल नेपालका पूर्वसदस्य गणेश पोखरेल, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका निमित्त प्रमुख दिनेश खत्री, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपाने, मेची ट्रान्सपोर्ट एसोसिएसनका उपाध्यक्ष बेदराज तामाङ र सचिव पदम श्रेष्ठल गायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी रमेश तिवारीले गर्नुभएको थियो ।
पूर्वेली ढुवानी सेवा प्रालिले पूर्वी नेपाललाई आधार क्षेत्र बनाएर देशभर ढुवानी सेवा प्रदान गर्दै आएको छ । प्रालिमार्फत हाल ४६ वटा मालवाहक ट्रक नियमित रूपमा सेवा दिँदै आएका छन् भने करिब ८५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।


