
झापा, १३ असोज । झापाको बिर्तामोडमा डेरा गरी बस्ने एक युवतीलाई हातखुट्टा तथा घाँटी बाँधेर शरीरमा पेट्रोल छर्की आगो लगाउन खोजेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।
इलामको रोङ गाउँपालिका–३ घर भई हाल बिर्तामोड नगरपालिका–५ मा डेरा गरी बस्ने २२ वर्षीया रविना मगरमाथि असोज १२ गते राति उक्त घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भारतको किशनगञ्ज घर भई बिर्तामोडस्थित अमृत भोग मिठाई पसलमा काम गर्दै आएका ४२ वर्षीय दिलिप चन्द्र राय मादक पदार्थ सेवन गरी युवतीको कोठामा प्रवेश गरेका थिए ।
रायले तन्ना च्यातेर मगरको हातखुट्टा तथा घाँटी बाँधेको र त्यसपछि शरीरमा पेट्रोल छर्केर आगो लगाउन खोजेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । घटनाबारे जानकारी पाएलगत्तै पुगेको प्रहरी टोलीले रायलाई नियन्त्रणमा लिएको थियो। घटनामा घाइते भएकी मगरलाई उपचारका लागि मनमोहन अस्पताल बिर्तामोड लगिएको छ । उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका रायमाथि घटनाको कारण तथा घटनामा संलग्नताको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


