बिर्तामोड, १४ कात्तिक । बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको २४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाको कार्यालय परिसरमा शनिबार आयोजित साधारण सभा संस्थाका अध्यक्ष मेघराज बास्तोलाको अध्यक्षता तथा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय झापाका प्रमुख सुमन भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

साधारण सभाका अवसरमा संस्थाले दुई जना ज्येष्ठ उपभोक्ता र एक जना उत्कृष्ट कर्मचारीलाई सम्मान गरेको छ । ज्येष्ठ पुरुष उपभोक्तातर्फ लक्ष्मीप्रसाद ओली र महिलातर्फ विष्णुमाया गुरुङ सम्मानित हुनुभएको छ । त्यस्तै, उत्कृष्ट कर्मचारीका रूपमा संस्थाका प्लम्बर नरप्रसाद कट्टेललाई सम्मान गरिएको छ । सम्मानित व्यक्तिहरूलाई दोसल्ला ओढाएर सम्मानपत्रसहित नगद प्रदान गरिएको थियो ।

कार्यक्रममा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै मेघराज बास्तोलाले संस्थाले हाल तीनवटा ओभरहेड ट्याङ्की, १४ वटा डिप बोरिङ र १२ वटा फिल्टर प्लान्टमार्फत खानेपानी सेवा सञ्चालन गरिरहेको जानकारी दिनुभयो । संस्थाले दैनिक दुई करोड २५ लाख लिटर पानी उत्पादन गरी उपभोक्तालाई चौबिसै घण्टा वितरण गर्दै आएको उहाँले बताउनुभयो ।
संस्थाले हाल १० हजार ८३३ उपभोक्तालाई स्वच्छ खानेपानी उपलब्ध गराउँदै आएको अध्यक्ष बास्तोलाले बताउनुभयो । उपभोक्ताको मागअनुसार संस्थाको कार्यक्षेत्रभित्रका आवश्यक स्थानमा पाइपलाइन विस्तार गरिएको उल्लेख गर्दै उहाँले चालु आर्थिक वर्ष २०८३÷८४ मा ८०२ वटा नयाँ धारा जडान गरी खानेपानीको पहुँच विस्तार गरिएको जानकारी दिनुभयो ।
साधारण सभामा संस्थाकी कोषाध्यक्ष शारदा रिजालले आर्थिक वर्ष २०८२/८३ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । प्रतिवेदनअनुसार उक्त आर्थिक वर्षमा संस्थाले विभिन्न शीर्षकबाट नौ करोड ६० लाख ५९ हजार ६१५ रुपैयाँ आम्दानी गरेको थियो । सोही अवधिमा आठ करोड १९ लाख १८ हजार ५६ रुपैयाँ खर्च गरी एक करोड ४१ लाख ४१ हजार ५५९ रुपैयाँ बचत गर्न सफल भएको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै, लेखा समिति संयोजक विष्णुप्रसाद चुडालले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुहुँदै संस्थाले आफ्नो क्षमता र स्रोतअनुसार खानेपानी सेवा सञ्चालन तथा व्यवस्थापन गर्ने प्रयास गरेको बताउनुभयो । आर्थिक कारोबार र उपलब्ध कागजातको अध्ययन तथा परीक्षणबाट संस्थाको सेवा व्यवस्थापनसम्बन्धी प्रयास सकारात्मक देखिएको उल्लेख गर्दै उहाँले आर्थिक अनुशासन, पारदर्शिता र उत्तरदायित्वलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा लेखापरीक्षक मोहन शिवाकोटीले संस्थाको लेखापरीक्षण प्रतिवेदनबारे जानकारी गराउनुभएको थियो ।
साधारण सभामा प्रमुख अतिथि खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय झापाका प्रमुख सुमन भट्टराई, जिल्ला समन्वय समिति झापाकी उपप्रमुख शान्ता रोक्का, बिर्तामोड नगरपालिका–५ का वडाध्यक्ष रोहित प्रसाईं, संस्थाका सल्लाहकार लोकबहादुर कन्दङबा, निवर्तमान अध्यक्ष जलकुमार गुरुङ, नेपाली कांग्रेस बिर्तामोड नगर सभापति कुलप्रसाद संग्रौला, राष्ट्रिय स्वतन्त्र पार्टीका नगर अध्यक्ष दीपक दिनेश दाहाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका नगर अध्यक्ष लक्ष्मी गौतम तथा नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपानेलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
संस्थाका सचिव पारसमणि मैनालीले सञ्चालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष शैलेन्द्र सिटौलाले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, संस्थाका उपभोक्ता र सञ्चारकर्मीलगायतको उल्लेख्य उपस्थिति रहेको थियो ।



