झापा, १४ कात्तिक । पत्रकार पक्राउ तथा सञ्चारगृहमा प्रवेश गरेर प्रहरीले आतंक सिर्जना गरेको भन्दै नेपाल पत्रकार महासंघले आज शनिबार बिहान काठमाडौँमा बृहत् प्रदर्शन गर्ने भएको छ।
महासंघका अनुसार बिहान ८ बजे माइतीघर मण्डलाबाट प्रदर्शन सुरु हुनेछ। पत्रकारलाई समाचार कक्षबाटै नियन्त्रणमा लिने र सञ्चारगृहमा प्रहरी प्रवेश गर्ने घटनाको विरोधमा प्रदर्शन गर्न लागिएको हो।

शुक्रबार साँझ सादा पोसाकमा आएका प्रहरीले समाचार कक्षमै प्रवेश गरेर नेपालप्रेस डटकमका पत्रकार विश्वमणि सुवेदी, डीएनखबरका पत्रकार धीरज बस्नेत र मोटिभेट न्युजका पत्रकार शोभराज बराललाई नियन्त्रणमा लिएका थिए।
त्यस्तै, पत्रकार नवराज मैनालीलाई नियन्त्रणमा लिन प्रहरी नयाँ पत्रिकाको कार्यालयमै पुगेको थियो। मैनाली नभेटिएपछि प्रहरीले नयाँ पत्रिकाका सम्पादक खगेन्द्र पन्तसँग करिब अढाई घण्टा छलफल तथा विवाद गरेको जनाइएको छ।
पत्रकार पक्राउको घटनाको चौतर्फी विरोध भएपछि प्रधानमन्त्री वालेन्द्र शाह ९बालेन० को सचिवालयले घटनामा प्रधानमन्त्री कार्यालय तथा सचिवालयको कुनै संलग्नता नरहेको दाबी गरेको थियो।
प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले शुक्रबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत पत्रकार पक्राउ गर्ने विषयमा प्रधानमन्त्रीलाई पूर्वजानकारीसमेत नभएको बताउनुभएको थियो। यसैबीच, पक्राउ परेका सबै पत्रकार रिहा भइसकेको प्रहरीले जनाएको छ।



