झापा, १४ कात्तिक । श्रीमान्को मृत्युपछि आर्थिक तथा सामाजिक समस्यासँग जुधिरहेकी शिवसताक्षी नगरपालिका–८ की पार्वती ऋषिदेवका लागि नेपाली नागरिकता प्राप्ति नयाँ आशा बनेको छ। नागरिकता नहुँदा राज्यबाट प्राप्त हुने सामाजिक सुरक्षा सुविधाबाट वञ्चित उहाँले अब एकल महिला भत्ता पाउनुहुने भएको छ।
श्रीमान् शंकर ऋषिदेवको मृत्युपछि पार्वतीको जीवन थप कष्टकर बनेको थियो। कमजोर आर्थिक अवस्था र नागरिकताको अभावका कारण उहाँ सरकारी सेवा सुविधाको पहुँचबाट बाहिर रहनुभएको थियो। दैनिक जीवनयापनका आधारभूत आवश्यकता पूरा गर्नसमेत उहाँलाई कठिनाइ हुँदै आएको थियो।

नागरिकता प्राप्त गरेपछि खुसी व्यक्त गर्दै पार्वतीले भन्नुभयो, “नागरिकता नहुँदा धेरै समस्या थियो। अहिले नागरिकता बनेको छ, भत्ता पनि पाउने भएँ। मोबाइलसमेत पाएकी छु। अब घर पनि बनाइदिने भन्नुभएको छ, यसले मलाई धेरै खुसी लागेको छ।”
पार्वतीको अवस्थाबारे जानकारी पाएपछि शिवसताक्षी नगरपालिका–८ का वडाध्यक्ष सन्तकुमार फेउदिनले नागरिकता बनाउन पहल गर्नुभएको थियो। उहाँकै पहलमा पार्वतीले शनिबार वंशजका आधारमा नेपाली नागरिकता प्राप्त गर्नुभएको हो।
नागरिकता प्राप्तिपछि वडा कार्यालयले उहाँका लागि एकल महिला सामाजिक सुरक्षा परिचयपत्रसमेत बनाइदिएको छ। अब उहाँले चालु आर्थिक वर्षको कात्तिक महिनादेखि मासिक सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नुहुनेछ।
वडा सचिव पुष्पलाल पाण्डेले सामाजिक सुरक्षा परिचयपत्र पार्वतीकै घरमा पुर्याइदिनुभएको छ। कार्यालयसम्म पुगेर सेवा लिन कठिन हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै घरमै परिचयपत्र पुर्याइएको उहाँले बताउनुभयो।
नागरिकतापछि अब सुरक्षित आवासको आशा
नागरिकता र सामाजिक सुरक्षा भत्ताको पहुँच खुले पनि पार्वतीको समस्या पूर्ण रूपमा समाधान भएको छैन। सुरक्षित आवासको अभावमा कष्टकर जीवन बिताइरहनुभएकी उहाँका लागि आगामी मङ्सिरदेखि घर निर्माणको काम अघि बढाउने प्रतिबद्धता वडाध्यक्ष फेउदिनले जनाउनुभएको छ।
“नागरिकता, सामाजिक सुरक्षा र मोबाइल फोनको व्यवस्था गरेपछि पनि पार्वतीको समस्या पूर्ण रूपमा समाधान भएको छैन। उहाँलाई सुरक्षित रूपमा बस्न मिल्ने घरको आवश्यकता छ। त्यसैले मङ्सिरदेखि घर निर्माणको काम अघि बढाउने योजना बनाएको छु,” उहाँले भन्नुभयो।
वडाध्यक्ष फेउदिनले आफ्नो वडाका आर्थिक रूपमा विपन्न, अपाङ्गता भएका तथा उपचार र दैनिक जीवनयापनमा समस्या भोगिरहेका नागरिकलाई व्यक्तिगत पहलमा सहयोग गर्दै आएको बताउनुभयो।
नागरिकता प्राप्तिसँगै सामाजिक सुरक्षा भत्ताको बाटो खुलेपछि पार्वतीलाई केही राहत मिल्ने देखिएको छ। अब सुरक्षित आवासको व्यवस्था हुन सके उहाँको जीवनयापन थप सहज हुने अपेक्षा गरिएको छ।



