झापा, १४ कात्तिक । बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को अवशेष र पश्चिमी वायुको आंशिक प्रभावका कारण देशभर बदली र वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा भइरहेको छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर बादल लाग्नेछ। कोशी, मधेस र बागमती प्रदेशका अधिकांश स्थान तथा गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा पनि वर्षा र हिमपात हुन सक्नेछ।

त्यसैगरी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा हल्का वर्षा तथा कोशी, मधेस र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति पनि देशभर बदली रहनेछ। हिमाली भूभागका केही स्थानमा मध्यम वर्षा र हिमपात हुन सक्नेछ भने कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
धानबाली भित्र्याउने काम रोक्न आग्रह
सम्भावित वर्षाका कारण धानबाली भित्र्याउनेलगायत कृषि कार्य प्रभावित हुन सक्ने भएकाले महाशाखाले आज र भोलि कृषि कार्य नगर्न अनुरोध गरेको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेकाले विशेष सतर्कता अपनाउन पनि आग्रह गरिएको छ।
महाशाखाले पर्यटकलाई उच्च हिमाली क्षेत्रमा नजान र त्यस्ता क्षेत्रमा पुगिसकेकालाई मौसम अनुकूल नहुँदासम्म सुरक्षित स्थानमा बस्न अनुरोध गरेको छ।
वर्षासँगै चिसो बढ्न सक्ने, जोखिमयुक्त स्थान तथा सडक छेउमा पहिरो खस्न सक्ने र सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरिएको छ। सम्भावित जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायलाई आवश्यक पूर्वतयारी गर्न पनि महाशाखाले अनुरोध गरेको छ।
महाशाखाका अनुसार चक्रवात ‘अर्नब’को अवशेष र पश्चिमी वायुको प्रभाव भोलि अपराह्नदेखि क्रमशः कमजोर हुँदै जानेछ।



