झापा, १९ कात्तिक । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावले मधेस, कोशी र बागमती प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहनेछ ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा पनि आंशिक बादल लाग्ने सम्भावना छ । देशका अन्य भूभागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
राति गण्डकी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ ।
यसैगरी, शुक्रबार देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।



