झापा, १९ कात्तिक । झापामा जग्गा प्राप्तिका लागि आवेदन दिने भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारको सङ्ख्या ६० हजार ५७० पुगेको छ ।
भूमि समस्या समाधान समितिका अनुसार जिल्लामा भूमिहीन दलिततर्फ २ हजार ८९६ परिवारले आवेदन दिएका छन् । त्यस्तै, भूमिहीन सुकुम्बासीतर्फ १५ हजार ७८३ र अव्यवस्थित बसोबासीतर्फ ४१ हजार ८५१ परिवारले जग्गा प्राप्तिका लागि आवेदन दिएका छन् ।

तीनवटै समूहको विवरणअनुसार अव्यवस्थित बसोबासी परिवारको सङ्ख्या सबैभन्दा धेरै रहेको छ । कुल आवेदकमध्ये करिब ६९ प्रतिशत परिवार अव्यवस्थित बसोबासी रहेका छन् ।
यसैगरी, अघिल्ला भूमि आयोगहरूबाट अधुरो तथा अपुरो अवस्थामा रहेका आवेदक परिवारको सङ्ख्या ५ हजार २९६ रहेको समितिले जनाएको छ ।
भूमि समस्या समाधानका लागि राजस्वको दरसमेत परिमार्जन गरिएको छ । नयाँ व्यवस्थाअनुसार आवास प्रयोजनका लागि न्यूनतम मूल्याङ्कनको १२ प्रतिशत र कृषि प्रयोजनका लागि ७ प्रतिशत राजस्व कायम गरिएको छ ।
भूमि समस्या समाधान समिति झापाले जग्गा वितरण तथा समस्या समाधानसम्बन्धी कामलाई तीव्रता दिएको जनाएको छ । समितिमा रहेका कर्मचारी तथा पदाधिकारीहरू आवश्यक विवरण सङ्कलन, अभिलेख व्यवस्थापन तथा कार्यसम्पादनका काममा सक्रिय रहेको बताइएको छ ।
जिल्लामा हजारौँ परिवारको जग्गासम्बन्धी समस्या समाधान गर्नुपर्ने भएकाले आवेदनको विवरण प्रमाणीकरण, अभिलेख व्यवस्थापन र प्रक्रिया अगाडि बढाउने कामलाई प्रभावकारी बनाउनुपर्ने देखिएको छ ।



