झापा, १९ कात्तिक । बाढीले खेत बगाएपछि धेरै किसान निराश हुन्छन् । तर, झापा गाउँपालिका–१ का ६५ वर्षीय राजु अग्रवालले भने विपत्तिलाई अवसरमा बदलेका छन् । गत वर्ष सानो माईखोलामा आएको बाढीले उनको दुई बिघा उर्वर धानखेत बगरमा परिणत गरिदियो । धान फल्ने खेतमा बालुवा थुप्रिएपछि उनी केही समय चिन्तित बने । तर, निराश भएर बस्नुको सट्टा उनले त्यही बगरमा नयाँ सम्भावना खोजे । अहिले त्यही खेतमा बदाम फलाएर उनी उत्साहित छन् ।
बाढीले बगाएको खेतमा यस वर्ष अग्रवालले करिब २० क्विन्टल बदाम उत्पादन गरेका छन् । उत्पादित बदाम प्रतिकेजी १०४ रुपैयाँका दरले बिक्री भइरहेको छ । धान खेतीका लागि अनुपयुक्त बनेको जमिनमा वैकल्पिक बालीका रूपमा बदाम खेती सफल भएपछि उनी थप उत्साहित भएका हुन् ।

‘धान फल्ने खेत बालुवाको बगर बनेपछि दुःख लाग्नु स्वाभाविकै थियो । बाढीको कहरबाट म स्तब्ध भएँ, तर विचलित भइनँ,’ अग्रवालले आफ्नो अनुभव सुनाउँदै भने, ‘कुन खेती गर्न सकिन्छ भनेर सोधीखोजी गर्न थालेँ । बदाम फल्छ भन्ने थाहा पाएपछि उत्साहका साथ नयाँ खेतीमा जुटेँ ।’
उनले भारतीय बजारबाट १० केजी बदामको बीउ ल्याएर सुरुमा पाँच कट्ठा जमिनमा परीक्षण खेती गरेका थिए । परीक्षण सफल भएपछि खेती विस्तार गर्दै अहिले दुई बिघा क्षेत्रफलमा बदाम लगाएका छन् ।
पहाडी क्षेत्रमा बढी हुँदै आएको बदाम खेती झापाजस्तो तराईको क्षेत्रमा पनि सफल हुन सक्छ भन्ने कुरा अग्रवालले आफ्नै खेतबाट प्रमाणित गरेका छन् । कृषि प्राविधिकहरूले तराई क्षेत्रमा पनि बदाम उत्पादन सम्भव रहेको सुझाव दिएपछि उनले त्यसलाई व्यवहारमै परीक्षण गरेका थिए ।
परम्परागत धान तथा अन्य बालीको तुलनामा बदाम खेतीबाट राम्रो आम्दानी गर्न सकिने उनको अनुभव छ । जेठ महिनामा रोपिएको बदाम कात्तिकमा उत्पादन भएपछि अहिले उनलाई बाली भित्र्याउने चटारो छ । यस वर्ष उत्पादित बदाम बिक्रीबाट राम्रो आम्दानी हुने उनको अपेक्षा छ ।
झापा गाउँपालिकाकी कृषि प्राविधिक रीता बर्देवाका अनुसार खुकुलो, हलुका तथा बलौटे–दोमट माटो र तराईको न्यानो मौसम बदाम उत्पादनका लागि उपयुक्त मानिन्छ । त्यसैले उचित जमिन छनोट र प्राविधिक विधि अपनाउन सके तराई क्षेत्रमा पनि बदाम खेतीको राम्रो सम्भावना रहेको उनको भनाइ छ ।
स्वादका लागि मात्र नभई स्वास्थ्यका दृष्टिले पनि बदाम पौष्टिक खाद्यवस्तु मानिन्छ । यसले बजारमा समेत राम्रो माग पाउने भएकाले किसानका लागि वैकल्पिक नगदे बाली बन्न सक्ने सम्भावना देखिएको छ ।
बाढीले उर्वर खेत बगरमा परिणत गरेपछि निराश भएका अग्रवालले त्यही बगरमा बदाम फलाएर नयाँ सम्भावनाको ढोका खोलेका छन् । उनको सफलताले प्राकृतिक विपत्तिका कारण खेतीयोग्य जमिनको स्वरूप परिवर्तन भए पनि उपयुक्त बाली छनोट गर्न सके कृषि क्षेत्रमै नयाँ अवसर सिर्जना गर्न सकिन्छ भन्ने सन्देश दिएको छ ।



