भद्रपुर, १२ मंसिर । झापाको सदरमुकाम भद्रपुरमा आयोजना हुन लागेको नेपाल जेसीजको ५३ औँ साधारणसभा तथा महाधिशनको तयारी तीव्र बनाइएको छ । महाधिवेशनको आतिथ्य गर्ने अवसर पाएको भद्रपुर जेसीजले महाधिवेशनलाई भव्य बनाउने गरी तयारीलाई तीव्रता दिएको हो । गत भदौमा महाधिवेशनको लोगो सार्वजनिक गरी भद्रपुर जेसीजले तयारी सुरु गरेको थियो ।
यसैबीच भद्रपुर जेसीजले महाधिवेशनको सन्दर्भलाई लिएर विभिन्न क्षेत्रसँग अन्तरक्रियात्मक छलफल गर्दै आएको छ । यसैक्रममा भद्रपुर जेसीजले भद्रपुरलगायत झापाका उदोगी–व्यवसायीसँग छलफल गरेको छ ।

भद्रपुर जेसीज २०२६ का अध्यक्ष सुरेन्द्र (हिमाल) खड्काको नेतृत्वमा झापा उद्योग वाणिज्य संघको सभाहलमा उद्योगी–व्यवसायीसँग महाधिवेशनलाई अविस्मरणीय र भव्य बनाउने सम्बन्धमा छलफल भएको थियो ।
संघका कार्यवाहक अध्यक्ष राजकुमार राईको अध्यक्षतामा भएको अन्तरक्रियात्मक छलफलमा सहभागी उद्योगी–व्यवसायीले भद्रपुरलाई राष्ट्रियस्तरको कार्यक्रम गर्ने अवसर पाप्त भएकोले यसलाई भद्रपुरको हितका लागि सदुपयोग गर्नुपर्नेमा जोड दिए ।
अन्तरक्रियामा आयोजक भद्रपुर जेसीजले महाधिवेशन सफलताका लागि आर्थिक उवम भौतिक रुपमा सहयोग गर्न उद्योगी–व्यवसायीलाई आग्रह गरेका थिए भने उद्योगी–व्यववसायीले पनि संस्थागत एवम् व्यक्तिगत रुपमा सकेको सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।
अन्तरक्रियामा जेसीजका तर्फबाट कार्यसमितिका पदाधिकारी–सदस्य एवम् पूर्र्व अध्यक्ष तथा पदाधिकारी–सदस्यहरुको उल्लेख्य सहभागिता थियो भने झापा उद्योग वाणिज्य संघका तर्फबाट कार्यवाहक अध्यक्ष राईलगायत विशिष्ट सदस्य खड्क लिम्बू, महासचिव सुमन्त मैनालीलगायत पदाधिकारी–सदस्यहरुको सहभागिता थियो ।
आगामी पुस ८ देखि १० सम्म आयोजना हुने ५३ औँ साधारणसभा तथा महाधिवेशनमा देशभरिका जेसीजका शाखाहरुबाट प्रतिनिधित्व रहने बताइएको छ । नेपाल जेसीजको महाधिवेशन निर्देशक, भद्रपुर जेसीजका पूर्व अध्यक्ष वसन्त पोखरेलले महाधिवेशनमा दुई हजार प्रतिनिधि सहभागी हुनेछन् ।
महाधिवेशनस्थल मेची रंगशालामा आवश्यक मर्मत–सम्भारको काम सुरु गरिएको महाधिवेशन आयोजक समितिका कोषाध्यक्ष अनुज खतिवडाले जानकारी दिए । झापा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष एवम् निर्माण व्यवसायी राजकुमार राईले उपलब्ध गराएको ग्रेडरले अहिले रंगशालामा अनावश्यक काँसघारी हटाउने र सम्याउने काम भइरहेको पनि खतिवडाले जानकारी दिए ।

