
झापा, २३ असार । शिवसताक्षी–७ हरियाली बस्तीका १० वर्षीय बालक समिर माझी जीवन र मृत्युको दोसाँधमा छन् । उनका दुई वटै मृगौला खराब भएको छ । कक्षा–३ मा अध्ययनरत् उनी मृगौला रोगबाट थलिएसँगै स्कूल जान नसक्ने भएका छन् ।
विगत चार वर्षदेखि मृगौला रोगबाट थलिएका समिरको आर्थिक अभावका कारण मृगौला प्रत्यारोपण हुन सकेको छैन । आमा रेणु माझीले मृगौला दिने भए पनि गरिबीका कारण त्यारोपण गर्न नसकेको बुबा गोपाल माझीले बताए । सम्पतिका नाममा झुप्रो घर भएको एक कठ्ठा जमिन पनि छोराको उपचारका लागि धितो राखेको माझीले बताए ।
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले त्रिवि शिक्षण अस्पताल काठमाडौँमा मृगौला प्रत्यारोपण्मा लागि रिफर गरेको छ । तर, उनीसँग आर्थिक जोह नहुँदा छोराको मृगौला प्रत्यारोपण गर्न सकेका छैनन् । छोरो बचाउन पाए हुन्थ्यो, बुबा गोपालले भने, पैसा नभएरै छोराको मृगौला फेर्न पाइन । छोरा पनि बेला बेला सोध्छ, बुबा अब मलाई निको हुँदिन ? हुन्छ, हामी उपचार गर्दछौँ त भन्छौँ तर खै बचाउन पो सकिएला नसकिएला !
गोपालले छोरा बचाउने अझै आश मारेका छैनन् । पत्रपत्रिकामा समाचार छापिए, सहयोगिमनले सहयोग गर्लान भन्ने अपेक्षा छ । छोराको उपचार भन्दा दिमागमा केहि नभएको सुनाए । बुबा गोपाल माझी र छोरा समिर माझीको नाममा रहेको मेघा बैंक नेपाल, व्याङ्डाँडा, शिवसताक्षी शाखाको ०१७००५२६३१८०६ नम्बरको खातामा सहयोगका लागि आग्रह गरेका छन् ।
समिरको उपचारका लागि बीरबहादुर माझीको संयोजकत्वमा समिर बचाउ अभियान समिति गठन भएको छ । समितिले पनि जसले जति सकिन्छ त्यति सहयोग गरे बालकको जीवन बचाउन सकिने भएकाले सहयोगका लागि आग्रह गरेको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

