
उर्लाबारी, ८ माघ । मोरङको लेटाङमा एकै दिन दुई बालिकामाथि यौन दुव्यर्वहार भएको छ । तीमध्ये एक बालिका बलात्कृत भएकी छन् । अर्की बालिकामाथि बलात्कारको प्रयास भएको छ ।
लेटाङ–९ जाँतेमा ११ वर्षीया बालिका बलात्कृत भएकी हुन् । गाउँमा काटेको खसीको मासु लिएर आउँदै गरेका बेला लेटाङ–८ घर भएकी ती बालिकामाथि बलात्कार गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी लोकदर्शन थापाले बताए ।
ती बालिकालाई ४६ वर्षीय तीर्थबहादुर कार्कीले बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । बालिकालाई कार्कीले आफ्नै घरभित्र लगेर बलात्कार गरेको डिएसपी थापाले जानकारी दिए । घरमा श्रीमती नभएको मौका छोपेर गाउँबाट मासु बोकेर आउँदै गरेकी बालिकालाई सुरुमा कार्कीले आफ्नो घर भित्र लगेका थिए ।
घर आइपुगेकी श्रीमतीले घर भित्र श्रीमानले एक बालिकालाई लिएर बसेको देखेपछि सोधीखोजी गर्दा घटना बाहिरिएको हो । सोधीखोजी गर्न थालेपछि बालिकाले पनि अभिभावकलाई घटना बारेमा सुनाइन् । पीडित बालिकालाई उपचार र स्वास्थ्य परीक्षणका लागि विराटनगरस्थित कोशी अञ्चल अस्पताल ल्याइएको छ । अभिभावकले किटानी जाहेरी दिएपछि कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । उनी विरुद्ध जवरजस्ती करणीअन्तर्गत मुद्दा चलाउन मंगलबार म्याद थप गरेर घटनाका बारेमा अनुसन्धान सुरु गरिएको जानकारी डीएसपी थापाले दिए ।
त्यसैगरी लेटाङ–५ खेरुवामा पढ्नका लागि स्कुल जाँदै गरेकी एक बालिकामाथि बलात्कारको प्रयास भएको छ । १४ वर्षीया ती बालिकामाथि लेटाङ–४ का २५ वर्षीय राजु दमाईले बलात्कार प्रयास गरेको डीएसपी थापाले बताए । स्कुल जाने क्रममा बाटोमा रहेको एकान्त जंगलमा पछाडिबाट मुख थुनेर दमाईले जवरजस्ती गर्न खोजेको बालिकाले सुनाएपछि अभिभावकले प्रहरीमा किटानी जाहेरी दिएका छन् । अभियुक्त दमाईलाई प्रहरीले पक्राउ गरेको छ । पीडित बालिकाले आफू फुत्किएर भाग्न सफल भएका कारण बलात्कृत हुनबाट जोगिएको प्रहरीलाई बताएकी छन् । उनले पछाडिबाट एक्कासि मुख थुने पनि आफू प्रतिवाद गरेर तुरुन्त उम्कन सकेको बताएकी छन् ।
प्रतिवादका क्रममा दोहोरो घम्साघम्सी हुँदा बालिकाको अनुहारमा सामान्य चोट लागेको छ । उनको पनि सोही अस्पतालमा उपचार गरिएको छ । पक्राउ गरिएका दमाई विरुद्ध भने बाल यौन दुव्र्यवहारसम्बन्धी मुद्दा चलाउन म्याद थप गरेर घटनाको अनुसन्धान सुरु गरिएको जानकारी डीएसपी थापाले दिए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

