
बिर्तामोड, १७ माघ । झापामा केही वर्षयता ब्राउनसुगरको कारोबारमा बृद्धि हुँदै गएको छ ।
झापा प्रहरीले चालू आर्थिक वर्ष २०७६÷०७७ को पुस मसान्तसम्ममा ९ सय ८६ दशमलव २८६ ग्राम ब्राउन सुगर बरामद गरेको छ । ७ महिलासहित ९५ जनाबाट प्रहरीले उक्त परिमाणमा ब्राउन सुगर बरामद गरेको हो । जुन अघिल्लो आर्थिक वर्ष २०७५÷७६ को तुलनामा दुई गुणा बढी हो ।
आव २०७५÷०७६ मा ७ सय ६७ दशमलव ९९७ ग्राम ब्राउनसुगर बरामद भएको थियो भने १५ महिलासहित २ सय १ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाको तथ्यांकमा उल्लेख छ ।
त्यस्तै, आर्थिक वर्ष २०७३÷०७४ मा २०३ दशमलव ६१६ मिलिग्राम ब्राउनसुगर, २५ महिलासहित १ सय ७३ जना, २०७४÷०७५ मा १ सय २० दशमलव ९ सय ९३ मिलिग्राम ब्राउन सुगर र महिला ८ सहित १ सय ८० जनालाई पक्राउ गरेको थियो ।
झापामा लागूऔषध दुव्यर्सनको समस्या जटिल बन्दै गएको छ । काठमाडौँपछि झापा दुव्यर्सनको प्रभावका हिसाबले दोस्रो देखिएको छ । झापापछि मोरङमा दुव्र्यसनी छन् । सीमा नाकाका हरेक घरमा एकजना दुव्यर्सनी भएको प्रहरी अनुसन्धानले देखाएको झापाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले बताउनुभयो ।
‘झापामा प्रत्येक दिन लागूऔषध प्रयोगकर्ता पक्राउ परिरहेका छन्’, उहाँले भन्नुभयो, ‘प्रहरीमा दर्ता भएका मुद्दामध्ये आठप्रतिशत लागूऔषधका मुद्दा छन् ।’ इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख राजेन्द्र पोखरेल लागुऔषधको समस्या देशव्यापी रुपमा विकराल बन्दै गएको बताउनुहुन्छ ।
काठमाडौँपछि झापामा धेरै प्रयोगकर्ता रहेको उहाँले बताउनुभयो । ‘३० वर्ष मुनिका अधिकांश युवा कुलतमा फँसेका छन्’, उहाँले भन्नुभयो, ‘९८ प्रतिशत संगतको कारणले युवा दुव्र्यसनमा फसेको अनुसन्धानले देखाउँछ ।’
लागूऔषधमा पनि ब्राउन सुगर सबैभन्दा धेरै पक्राउ पर्न थालेको झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले बताउनुभयो । प्रहरीका अनुसार झापामा लागुऔषधको माग उच्च छ । झापामा १३ वटा पुनस्थापना केन्द्रमा ३१६ जना उपचारका क्रममा छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

