
काठमाडौं, ५ फागुन । काठमाडौंको प्रदर्शनी मार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर) मा दुई बिद्यार्थी समूहबीच कुटाकुट भएको छ । सोमबार बिहान दुई समूहबीच ढुंगा, इँट्टा हानाहान भएपछि प्रहरी परिचालन गरिएको छ ।
नेविसंघले आफ्ना कार्यकर्तामाथि अनेरास्ववियूले आक्रमण गरेको दाबी गरेको छ । तर अनेरास्ववियूले भने झगडा सांगठानिक नभएको बताएको छ । नेविसंघ महामन्त्री दीपक भट्टराईले कक्षाकोठामा पढ्न जाँदै गरेका आविष्कार पौडेल, सुमन खड्का र कुशल बस्नेतमाथि आक्रमण भएको जानकारी दिए ।
प्रहरीले घटनापछि नेविसंघ समर्थित विद्यार्थीलाई नियन्त्रणमा लिएको उनले बताए । प्रहरीले पुष्कर बास्तोला, सञ्जिव ढकाल, सुनिल शर्मा, रामजी बस्नेत, उमेश गुरूङ र विकु खड्कालाई नियन्त्रणमा लिएर महेन्द्र पुलिस क्लव भृकुटीमण्डपमा राखेको छ ।
‘हाम्रा साथीहरूलाई अखिलले नै कुटपिट गर्ने अनि प्रहरीले हाम्रै साथीहरूलाई पक्राउ गरेको छ । तत्काल रिहा नगरे आन्दोलन गर्छौं,’ महामन्त्री भट्टराईले भने । अखिलका नेता आरसी लामिछानेले दुई समुहबीच झगडा भए पनि सांगठानिक नभएको बताए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

