
अर्जुनधारा, ५ फागुन । अर्जुनधारा नगरपालिकामा वडास्तरीय महोत्सव जारी छ । महोत्सव हेर्न र सेवा लिनेहरुको संख्या बढ्दै गएका छन् । ४ गतेबाट सुरु भएको वडास्तरीय महोत्सव सोमबार वडा नं. १ मा भएको छ ।
महोत्सवमा किसानले पशुपंक्षी सम्बन्धी परामर्श र माटो परीक्षण, स्वास्थ्य परीक्षण समेत गराएका छन् । पशुपंक्षी विकास शाखाका अनुसार १ सय ६५ पशुको गोवर परीक्षण तथा उपचार र ९५ जना कृषकलाई परामर्श दिइएको थियो ।
कार्यक्रममा सामाजिक सुरक्षा परामर्श सेवा प्रदान गरेको पशु सेवा प्राविधिक बेनुपकुमार बस्नेतले जानकारी दिए । कार्यक्रममा स्वास्थ्य सेवातर्फ ४० जना महिलाले भीआईए टेष्ट, ५७ जनाले सुगर टेष्ट र ७५ जनाले स्क्रिन टेष्ट सेवा लिएको स्वास्थ्य शाखाकी दुर्गा चापागाईंले जानकारी दिइन् । स्वास्थ्य शाखाका प्रमुख मुकुन्द बस्नेतका अनुसार ग्रामीण बस्तीमा भीआईए टेष्ट राम्ररी नगरेसम्म रोग च्यापेर बस्नेहरुको संख्या देखिने अवस्था छ ।
अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको १ वडाध्यक्ष गजाधर खतिवडाको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा नगर उपप्रमुख कमला आचार्य, प्रशासकीय प्रमुख पंकज भुर्तेल लगायतको आतिथ्य रहेको थियो । कार्यक्रममा साकेला, मारुनी, कौरा, च्याम्ब्रुङ, सेलो लगायतका मौलिक नृत्य प्रस्तुत गरिएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

