
झापा, ११ फागुन । देशको शैक्षिक गुणस्तर खस्किएको आलोचना भइरहेका वेला शिक्षा मन्त्रालयले भने मिहिनेतविनै विद्यार्थीले सर्टिफिकेट पाउनेगरी पाठ्यक्रमको संरचना तयार पारेको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
कक्षा ११ र १२ मा सैद्धान्तिक ९बाह्य० र प्रयोगात्मक (आन्तरिक)मा छुट्टाछुट्टै पास हुनुपर्ने व्यवस्था परिवर्तन गरी अब समग्रमा ३० ल्याउनेले सर्टिफिकेट पाउने भएका हुन् । नयाँ पाठ्यक्रममा ७५ अंक सैद्धान्तिक र २५ अंक प्रयोगात्मक मूल्यांकनको व्यवस्था गरेको छ । शिक्षामन्त्रीको अध्यक्षतामा गठन हुने पाठ्यक्रम विकास परिषद्ले नयाँ पाठ्यक्रम निर्माण भएका विषयहरूको सैद्धान्तिक र प्रयोगात्मक विषयको कोड एउटै राखेको छ ।
एउटै कोड भएपछि विद्यालयले पठाएको सैद्धान्तिक र प्रयोगात्मक मूल्यांकनको अंक एकीकृत रूपमा आउँछ । यसरी आन्तरिकमा २५ र बाह्य मूल्यांकनमा ५ गरी ३० अंक ल्याउनेको समग्रमा डी प्लस ग्रेड आउँछ । डी प्लस ल्याउने विद्यार्थीले विश्वविद्यालयमा भर्ना पाउँछ । अहिलेसम्म कक्षा ११ र १२ मा बाह्य र आन्तरिक परीक्षामा छुट्टाछुट्टै अंक राख्ने गरिएको छ । सैद्धान्तिक परीक्षामा समेत डी प्लस ल्याएका विद्यार्थीको मात्र राष्ट्रिय परीक्षा बोर्डबाट ट्रान्सक्रिप्ट जारी हुन्छ ।
सैद्धान्तिक र आन्तरिकको एउटै कोड नम्बर राख्नु र दुवैको अंक जोडेर एकीकृत रूपमा ग्रेड प्राप्त गर्ने व्यवस्थाले निकै कमजोर विद्यार्थीसमेत उच्च शिक्षाका लागि दाबेदार हुने विज्ञको दाबी छ । कक्षा ११ मा आगामी शैक्षिकसत्रदेखि र कक्षा १२ मा एक वर्षपछि नयाँ पाठ्यक्रम लागू हुँदै छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

