
तेह्रथुम, ११ फागुन । आफ्नो ६९ औं जन्मदिन मनाउन पहिलो पटक प्रधानमन्त्री केपी शर्मा ओली जन्मथलो तेह्रथुमको आठराई जाँदैछन् । यसका लागि प्रधानमन्त्रीको जन्मघरलाई बेहुलीलाई सिंगारिएको छ भने प्रधानमन्त्रीको स्वागतमा सर्वसाधारण विहानै देखि प्रतिक्षारात छन् ।
तेह्रथुमको आठराईमा रहेको आफ्नो पुर्ख्यौली घरमा प्रधानमन्त्री ओलीले जन्मदिन मनाउन लागेका हुन् । त्यसका लागि महिनौ दिन देखि तयारी सुरु गरिएको थियो । हेलिप्याड निर्माण, वाटो निर्माणका काम गरिएको थियो । आफ्नो जन्मदिन मनाउन जान लागेका प्रधानमन्त्री ओलीले आफू जन्मिएको घरलाई दशैं अघि नै पुनर्निर्माण गर्न लगाएका थिए । उनले सो घर १० लाख रुपैयामा किनेका थिए ।
जन्मदिन मनाउन प्रधानमन्त्री ओली आउने भएपछि आठराई गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ । एक सूचना प्रकाशित गर्दै गाउँपालिकाले आइतबार गाउँपालिका र मातहतका सरकारी कार्यालय, विद्यालयहरुमा स्थानीय विदा दिएको हो ।
साथै गाउँपालिकाले कर्मचारी, विद्यार्थी तथा शिक्षकलाई तोकिएको पोशाकमा उपस्थित हुन पनि भनेको छ । ओलीको जन्म २००८ साल फागुन ११ गते तेह्रथुमको आठराईमा भएको थियो भने २०२० सालमा ओली परिवार झापा बसाईं सरेको थियो । तेर्हथुम प्रस्थान गर्नुभन्दा अघि प्रधानमन्त्री ओलीले आफ्नो सरकारी निवास बालुटारमा पनि केक काटेर जन्मदिन मनाएका छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

