
ताप्लेजुङ, १३ फागुन । सोलुखुम्बुको सुमन कुलुङ पाथीभरा म्याराथन दौडको विजेता बन्नुभएको छ । आज भएको म्याराथन दौडमा ४ घण्टा १३ मिनेट २७ सेकेण्डको समयमा निर्धारित दूरी ५४ किलोमिटरको दौड पूरा गरी खुलातर्फको दौडमा कुलुङ विजेता बन्नुभएको हो ।
यस्तै पाँचथर फिदिमका प्रताप थाम्सोहाङ द्धितीय हुनुभएको छ । उहाँले चार घण्टा १४ मिनेट नौ सेकेण्डमा निर्धारित दूरी पार गर्नुभयो । रुकुमको मुसिकोटका दुर्गाराज बुढा तृतीय हुनुभयो । उहाँले चार घण्टा २९ मिनेट १७ सेकेण्डमा निर्धारित दूरी पार गर्नुभएको थियो ।
यता महिलातर्फको हाफ म्याराथन दौडमा भने जुम्लाको पत्रासी गाउँपालिकाकि सुनमाया बुढाक्षेत्री विजेता बन्नुभएको छ । बुढाक्षेत्रीले ४४ किलोमिटरको दूरी तीन घण्टा ३८ मिनेटमा पूरा गर्नुभयो । आफ्नो प्रतिस्पर्धी त्रिभुवन आर्मी क्लब की सरिता वासीको तुलनामा बुढाक्षेत्रीले १० मिनेट चाँडो दूरी पार गर्नुभएको थियो । वासीले तीन घण्टा ४८ मिनेटमा दूरी पार गर्नुभएको हो । यता धादिङ की रसिला तामाङ तृतिय हुनुभएको छ । चरा घण्टा ५९ सेकेण्डमा निर्धारित दूरी पार गरी तामाङ तीितय हुनुभएको हो ।
खुलातर्फका विजेताले एक लाख ५१ हजार, उपविजेताले १ लाख ११ र तृतीयले ५१ हजार पुरस्कार प्राप्त गरेका छन् । महिलातर्फका विजेता, उपविजेता र तृतीयले क्रमस ८१, ५१ र ३१ हजार रुपैँया पुरस्कार प्राप्त गरेका छन् । ताप्लेजुङमा शुक्रबारदेखि शुरु भएको पाथीभरा म्याराथन तथा मेची पर्यटन महोत्सवको अन्तिम दिन आज म्याराथन दौड गराइएको हो । म्याराथन दौडको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले बिहान उद्घाटन गर्नुभएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

