
बिर्तामोड, १७ फागुन । झापाको कनकाईमाई नदीमा गंगा आरती गरिने भएको छ । ग्लोवल मल्टिकल्चरल अर्गनाइजेशन, नेपालको आयोजनामा यही फागुन २३ गते गंगा आरती हुने भएको हो ।
भ्रमण वर्ष सन् २०२० लाई सफल बनाउन बहुधार्मिक, बहुभाषिक, बहुसांस्कृति तथा बहुआयामीक रुपमा कनकाईमाई नदीमा गंगा आरतीको सुरुवात गर्न लागिएको हो । गंगा आरतीसँगै फागुन २४ र २५ गते बिर्तामोडमा धार्मिक पर्यटन महोत्सव मनाउ लागिएको छ । सोही दिनदेखि आरतीलाई निरन्तरता दिइने जनाइएको छ ।
शनिबार पत्रकार सम्मेलनको आयोजना गरी आयोजक संस्था ग्लोवल मल्टिकल्चरलका अध्यक्ष एलपी बुढाथोकीले कार्यक्रमबारे जानकारी दिएका हुन् । उनले सबै जातजाति, भाषाभाषी, धर्ममानुरागीहरुको सहभागिता गंगा आरती गरिने बताए ।
‘यो कुनै एक जात वा धर्मसँग सम्बन्धित कार्यक्रम होइन’, उनले भने, ‘मुलुकमा रहेका सबै नदी नालाहरुको संरक्षण र सम्मान गर्न कार्यक्रम गर्न लागेका हौँ ।’
गंगा आरतीमा विभिन्न जातजातिका धर्मगुरुसहित करिब ५ हजार भक्तजनको सहभागिता रहने आयोजकको अनुमान छ ।
फागुन २४ र २५ गते हुने बहुधार्मिक महोत्सवमा राष्ट्रिय तथा अन्तरर्ाष्ट्रिस्तरका व्यक्तित्वलाई सम्मान गरिने भएको छ । त्यस्तै, मल्टिट्यालेन्ट, ज्येष्ठ नागरिक (१०० वर्षमाथिका) बरिष्ठ गायक, साहित्यकार, वाद्यवादन, नाट्यकर्मी, पर्यटन, सामाजिक व्यक्तित्वलाई समेत सम्मान गरिने आयोजक समितिका संयोजक कुमार भट्टराईले जानकारी दिए । उनका अनुसार सातै प्रदेशमा यस प्रकारको कार्यक्रम आयोजना गरिनेछ । जसको सुरुवात प्रदेश नं. १ बाट हुन लागेको हो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

