
बिर्तामोड, २२ फागुन । झापा अर्जुनधारा नगरपालिका–११ स्थित नयाँ बसपार्क छेउको एक होटलबाट लागुऔषध ब्राउनसुगरसहित प्रहरीले बुधबार छ जना पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पाँचथर फाल्गुनन्द–३ का २५ वर्षीय विवेक तामाङ, २१ वर्षीय समिर लिम्बू, २४ वर्षीय सञ्जु चेम्जुङ, १८ वर्षीय दिपेन नेम्वाङ, झापा अर्जुनधारा–६ का १८ वर्षीय रोशन गुरुङ र इलाम तेनपा–२ का २० वर्षीय सन्तोष तामाङ रहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायब उपरीक्षक मुकुन्द्रप्रसाद रिजाले जानकारी दिनुभयो ।
उहाँका अनुसार विशेष सुराका आधारमा इप्रका अनारमनीबाट खटिएको प्रहरी टोलीले बसपार्कमै रहेको माउन्ट मेची होटलको एक कोठामा चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट ३९.२९ ग्राम ब्राउनसुगर बरामद गरेको हो ।
प्रहरीले उनीहरुको साथबाट छ थान मोबाइल र रू ५५ हजार नगद समेत बरामद गरेको छ । पक्राउ परेका छ जनालाई इप्रका अनारमनीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यता, २०७६ जेठदेखि फागुन २१ गतेसम्ममा इलाका प्रहरी कार्यालय अनारमनीले लागुऔषधसहित ५६ जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट ४७९.४२ ग्राम ब्राउनसुगर, ८०० ग्राम गाँजा, विभिन्न लागुऔषधि ६०० एम्बुल र ७६ वटा ट्याब्लेट बरामद गरिएको प्रनाउ रिजालले बताउनुभयो ।
पछिल्लो समय झापामा लागुऔषध ब्राउनसुगरसहित पक्राउ पर्नेको संख्या बढ्दै गएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

