
झापा, २४ फागुन । दक्षिण कोरियाले नेपाली कामदारको कोटा घटाएको छ। आगामी वर्ष दक्षिण कोरियाले ५ हजार ७ सय जना मात्रै कामदार लैजाने भएको हो।
एचआरडी कोरियाका प्रतिनिधि र वैदेशिक रोजगार विभागबीच शुक्रबार भएको छलफलमा दक्षिण कोरियाले श्रमिकको कोटा घटाएको जानकारी गराएको हो।
आगामी वर्ष कृषि क्षेत्रमा कामदार नलैजाने पनि कोरियाले जानकारी गराएको छ। तर यसअघि नै भाषा परीक्षा उत्तीर्ण गरेर रोष्टरमा रहेका श्रमिकहरु भने जान पाउनेछन्।
गत वर्ष नेपाली श्रमिकका लागि १० हजार ५० जनाको कोटा तोकिएको थियो। त्यसमध्ये कृषि क्षेत्रमा ३ हजार र औद्योगिक क्षेत्रमा ७ हजार ५० जनाको कोटा तोकिएको थियो।
दक्षिण कोरियाले सन् २००८ बाट ईपीएस भाषा परीक्षा लिएर नेपाली श्रमिक लैजान थालेको हो। पहिलो वर्ष २ हजार ८ सय १४ जना दक्षिण कोरिया पुगेका थिए। २००९ मा भाषा परीक्षा सञ्चालन भएन।
त्यस वर्ष अघिल्लो वर्ष परीक्षा दिएका १ हजार ९ सय ११ जना दक्षिण कोरिया उडेका थिए। त्यसपछि नियमित भाषा परीक्षा सञ्चालन गरेको कोरियाले सन् २०१२ मा भने परीक्षा लिएन।
त्यसपछि नियमित नेपाली श्रमिक भाषा परीक्षा सञ्चालन गरेर लैजाँदै आएको छ। ईपीएस लागू भएपछि ६३ हजार बढी नेपाली रोजगारीका लागि कोरिया पुगेका छन्। हाल करिब ४० हजारजति कार्यरत रहेको ईपीएस शाखाका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिए।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

