
मङ्गलबारे, २ चैत । इलामको देउमाई नगरपालिका–४ स्थित मङ्गलबारे बजार नजिकै एक डेरी उद्योगमा आगलागी हुँदा रु ७० लाख माथिको क्षति भएको छ ।
मङ्गलबारे बजारको तल्लो बुधबारेमा रहेको गजुरमुखी दर्शन डेरी उद्योगमा आगलागी हुँदा सो क्षति भएको हो । आगलागीबाट दुध पेल्ने मेसिन, घ्यु, छुर्पी लगायतका सामान जलेर नष्ट हुँदा क्षति भएको वडाध्यक्ष राजेन्द्र बाँस्तोलाले जानकारी दिनुभयो । आगलागी शनिबार दिउँसो ३ः०० बजेदेखि शुरु भएको थियो ।
स्थानीय अशेष बुढाथोकीले सञ्चालन गर्नु भएको सो डेरी उद्योगमा आगलागी नियन्त्रण भइसकेको छ । प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएको स्थानीय प्रकाश खनालले बताउनुभयो । नगरपालिकामा दमकल नहुँदा इलाम नगरपालिकाको दमकल पठाइएको थियो । स्थानीय तहले दमकल खरिद गर्नुपर्ने स्थानीय खनालको माग छ । टाढाको दमकल लैजानुभन्दा नजिकै दमकल भई दिएको भए क्षति कम हुन सक्ने उहाँको भनाइ छ ।
उद्योगमा रहेका सबै सामान जलेर न’ष्ट भएका छन् । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । साथै प्रारम्भिक चरणको अनुमानबाट सो क्षति भएको बताइए पनि उद्योगका प्रोप्राइटर जिल्लाबाहिर रहेकाले एकीन विवरण आउन बाँकी रहेको छ । रासस
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

