
काठमाडौँ, ३ चैत । कतारले कोभिड–१९ संक्रमणलाई थप फैलिन नदिन जोखिम क्षेत्रमा परेका चारवटा कम्पनीमा कार्यरत झन्डै चार हजार कामदारलाई क्वारेन्टाइनमा राखेको छ ।
त्यहाँ कम्तीमा दुई हजार नेपाली कामदार छन् । कतारमा कार्यरत कामदारको मुख्य बसोबास स्थल औद्योगिक क्षेत्र सनैयामा रहेका क्याम्पलाई क्वारेन्टाइन बनाइएको हो ।
उनीहरूलाई बिहीबारदेखि बाहिर निस्कन दिइएको छैन । क्वारेन्टाइनमा रहेका नेपालीले आफूहरूको स्वास्थ्य सुरक्षाका लागि नै क्वारेन्टाइनमा राखिएको भन्दै खुसी व्यक्त गरेका छन् । ‘हामीलाई राखिएको ठाउँका आठवटा बिल्डिङमा फरकफरक कम्पनीमा काम गर्ने नेपाली छन् ।
यहाँका दुईवटा बिल्डिङमा बस्ने दुई जनालाई कोरोना संक्रमण देखिएपछि सबैलाई क्वारेन्टाइनमा राखिएको हो,’ क्वारेन्टाइनमा बसेका धनुषाका एक नेपालीले भने, ‘हाम्रो स्वास्थ्य जाँच गर्न हमाद अस्पतालबाट डाक्टर आए, सबै जाँच गरेर गए । रिपोर्ट आइसकेको छैन ।’
क्वारेन्टाइनमा बस्नेमा कोठाभाडामा लिई बसेका नेपालीहरू पनि छन् । त्यसमा धेरैजसो सेल्सम्यानको काम गर्नेहरू छन् । ‘खाना हमाद अस्पतालबाटै आउँछ । कुनै समस्या छैन,’ उनले भने, ‘सुरुसुरुमा डर लागेको थियो । अब सामान्य लाग्न थालेको छ ।’ त्यही परिसरभित्र रहेका अर्घाखाँचीका एक नेपालीले सुरक्षा व्यवस्था निकै कडा रहेको बताए ।
‘बाहिर गेटमा कतारी सुरक्षाकर्मीले पहरा दिइरहेका छन् । गेटबाट बाहिर निस्कन दिइएको छैन । कम्पनीका मान्छेलाई पनि भित्र आउन दिइएको छैन । कम्पनीले कुनै कुराको कमी हुन दिएको छैन । साथीहरूको घरमा पैसा पठाउनु परेमा आफैंले पठाइदिएको छ,’ उनले भने, ‘यो निगरानीलाई हामीले सकारात्मक रूपमा लिएका छौं ।’
त्यो हाम्रो क्याम्पभित्र बस्ने हो कि होइन थाहा भएन । हामी पनि त्यहाँ गएको हुन सक्ने भन्दै हामीलाई काम गर्न र बाहिर जान नदिएको हो,’ एक नेपालीले भने, ‘बाहिर ननिस्केको तीन दिन भयो । हामी आफैंले कोठामा खाना बनाएर खाइरहेका छौं । खानाको अभाव छैन । खानेकुरा हाम्रो क्याम्पभित्रैको पसलमै किन्न पाइन्छ । हाम्रो क्याम्प बोसले छिट्टै स्वास्थ्य जाँचका लागि टोली आउँछ भनेको छ ।’, कतारको सार्वजनिक स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ३ सय ३७ जनामा कोभिड–१९ को संक्रमण देखिएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

