
झापा, ७ भदौ । एकैदिन कोरोनाभाइरसबाट देशका विभिन्न स्थानमा ८ जनाको मृत्यु भएको छ । पछिल्लो विवरणअनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोनाभाइरसबाट सुनसरीको धरान उपमहानगरपालिका–८ का ६८ वर्षीय पुरुषको मृत्यु भएको छ ।
साउन २९ गते कोरोना संक्रमण पुष्टि भएका उनको आइतबार साँझ ५ बजेर ३५ मिनेटमा मृत्यु भएको प्रतिष्ठनका प्रवक्ता दिनेश सापकोटाले जानकारी दिए । मृतकमा उच्च रक्तचाप, मधुमेह र स्वासप्रश्वाससम्बन्धी समस्या देखिएको उनले बताए ।
आजै कोरोना भाइरस संक्रमणको कारण काठमाडौँ उपत्यकामा थप दुई जनाको मृत्यु भएको छ । नेपाल मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा एक जना र ह्याम्स अस्पताल मण्डिखाटारमा एक कोरोना संक्रमितको मृत्यु भएको हो ।
नेपाल मानव अंग प्रत्यारोपण केन्द्रमा मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका–११ घर भएका कोरोना संक्रमित ५४ वर्षीय पुरुष रहेका छन् । मिर्गौलाको समस्या भएका उनलाई आइतबार मात्रै उपचारको लागि मानव अगं प्रत्यारोपण केन्द्रमा भर्ना गरिएको थियो ।
यस्तै ह्याम्स अस्पतालमा मृत्यु हुनेमा ५८ वर्षीय पुरुष रहेका छन् । पत्थरीको बिरामी रहेका उनलाई ३२ साउनमा अस्पतालमा भर्ना गरिएको थियो । यस्तै रुपन्देहीमा बुटवलमा पनि आजै दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।
आजै स्वास्थ्य मन्त्रालयले झापा, पर्साका र सर्लाहीका एक एक जनाकोमृत्यु भएको जानकारी दिएको थियो । यससँगै मृतकको कुल संख्या १५३ पुगेको छ । यद्यपी बुटवल, सुनसरी र उपत्यकाका ५ जनाको विषयमा भने मन्त्रालयले औपचारिक जानकारी दिइसकेको छैन ।
यता, पछिल्लो २४ घण्टामा देशभर ८१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर कुल संक्रमितको संख्या ३१ हजार ९३५ पुगेको जानकारी दिए । पछिल्लो २४ घण्टामा थप २८१ जना निको भएसँगै हालसम्म निको हुनेको कुल संख्या १८ हजार ६३१ पुगेको छ ।
हाल देशभर १३ हजार १५५ जना सक्रिय संक्रमित रहेका छन् भने ९ हजार २१२ जना संस्थागत आइसोलेशनमा रहेका छन् । यस्तै होम आइसोलेसनमा ३ हजार ९४३ जना रहेका छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



