
बिर्तामोड, १० वैशाख । चौथो बुट्टाबारी गोल्ड कप नकआउट फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनलमा आज धरानको फेयर फुटबल क्लब र मोरङको बेलबारी फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ।
फाइनल प्रवेशका लागि हुने यो महत्वपूर्ण खेल बिर्तामोड–६ स्थित हरियाली खेल मैदानमा दिउँसो ३ बजे सुरु हुने आयोजकले जनाएको छ। दुवै टोली उत्कृष्ट लयमा रहेकाले आजको खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ।
यसअघि हिजो सम्पन्न पहिलो सेमिफाइनलमा आयोजक बुट्टाबारी युनाइटेडले उदयपुरको ब्रदरहुड एफसीलाई २–० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ। आजको खेलको विजेताले बुट्टाबारी युनाइटेडसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।
प्रतियोगिताको फाइनल वैशाख १२ गते हुने तय गरिएको छ। विजेताले २ लाख २२ हजार २ सय २२ रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफी हात पार्नेछ। उत्कृष्ट खेलाडीलाई १५ हजार रुपैयाँ प्रदान गरिनेछ भने उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट युवा खेलाडीलाई जनही १० हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने आयोजकका अध्यक्ष प्रविन राईले जानकारी दिएका छन्।
प्रतियोगिताको टाइटल स्पोन्सर खेलकुद कपडाको ब्रान्ड ‘एनी’ रहेको छ। पहिलो पुरस्कार बिर्तामोड नगरपालिकाले र दोस्रो पुरस्कार कनकाई अस्पतालले प्रायोजन गरेको संस्थापक अध्यक्ष हिमाल कन्दङ्वाले बताए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



