
भद्रपुर, ६ फागुन । नेकपा माओवादी केन्द्र भद्रपुर नगर कमिटीले संगठन विस्तार तथा सुदृढीकरण अभियान शुरु गरेको छ । नगर कमिटीले २७औं जनयुद्ध दिवसको अवसर पारेर एक महिने पार्टी सुदृढीकरण अभियान शुरु गरेको हो ।
जसअन्तरगत गाउँ–गाउँमा सदस्यता विस्तारसँगै कमिटी गठन गर्ने कार्यलाई तिव्रता दिइएको छ । नगर कमिटी अध्यक्ष शिवकुमार राजभण्डारीको अध्यक्षतामा हालै बसेको बैठकले वडा–वडामा टोल कमिटी गठन गरी पार्टी सेल समितिसम्म संगठन विस्तार गर्ने निर्णय गरेको छ । पार्टीले अभियानकै रुपमा सदस्यता विस्तार गरी सदस्यता संख्या दोब्बर बनाउने तयारी अन्तरगत काम अघि बढाएको नगर इञ्चार्ज नरेश सञ्जेलले बताए ।
नगर कमिटीको बैठकले ढिलासुस्ती, भ्रष्टाचार, अनिर्णयकाबन्दीका कारण समस्या भोगिरहेका तथा लामो समय काम गरी योगदान गरेका कर्मचारी, मजदुरलाई बिना कारण कामबाट अवकास दिने जस्ता खराव प्रवृत्तिको अन्त्य गर्न नगरस्थित सरकारी, गैरसरकारी तथा निजी प्रतिष्ठानहरुमा सचेतना कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको नगर अध्यक्ष राजभण्डारीले जानकारी दिए ।
नगर कमिटीले भद्रपुर भन्सार मुआब्जा पीडित, सुकुम्बासी समस्या तथा नगरबासीको प्रत्यक्ष सरोकारसँठ जोडिएका शिक्षा, स्वास्थ्य, खानेपानी धारा, बिजुली, बाटो निर्माण आदि समस्या समाधानका लागि नेतृत्व गर्ने निर्णय गरेको छ ।
नगर कमिटीले सामाजिक संस्कारका कामहरु, प्राकृतिक प्रकोप, मानवीय सेवाका कामहरु, स्वास्थ्य उपचारका काम आदिमा समाजसँगै एकाकार भएर सहयोग गर्नेसमेत निर्णय गरेको छ ।
बैठकले ७ सदस्यीय कार्यालय गठन गरेको छ भने २१ सदस्यीय नगर समिति सचिवालयसमेत गठन गरेको छ । पार्टीले १० वटै वडाका इञ्चार्ज तथा सहइञ्चार्ज समेत तोकेको छ भने विभिन्न भातृ संगठनका संयोजकहरुको जिम्मेवारी बाँडफाँड गरेको छ ।
वडा नम्बर १ देखि १० सम्म क्रमशः चन्द्र तामाङ, मानबहादुर तामाङ, विष्णु राई, दिलिप लिम्बू, डिल्ली रुचाल, निरबहादुर राजवंशी, केदार सुब्बा, भोला चम्लागाई, इन्द्र खवास र अरविन्द अधिकारीलाई इञ्चार्जको जिम्मेवारी दिएको नगर सचिव हंशधर राजवंशीले जानकारी दिए ।
नगर कमिटीले फागुन १४ देखि २१ गतेसम्म सहिद परिवार, जनयुद्धका घाइते, जेलबन्दी, बेपत्ता परिवार लगायतसँग भेटघाट, सम्मान र अन्तरक्रिया गर्ने निर्णय गरेको उनले बताए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



