
भद्रपुर, २१ फागुन । झापाको भद्रपुर नगरपालिका वडा नं. ९ को वडा कार्यालयमा तालाबन्दी गरिएको छ ।
सो वडाका वडाध्यक्ष शनिलाल राजवंशीलाई अदालतले दोषी प्रमाणित गरे पनि वडाको काम कारबाही जारी राखेको भन्दै नेपाली कांग्रेस भद्रपुर ९ नम्बर वडा समितिले आज बेलुका ४ बजे तालाबन्दी गरेको हो ।
विदेशी नागरिकलाई अनधिकृत रुपमा नागरिकता प्रदान गर्ने कार्यमा संलग्न भएको प्रमाणसहित वडाध्यक्ष राजवंशीलाई दोषी ठहर गरेर झापा जिल्ला अदालतले मंसिर १३ गते कैद र जरिमानाको फैसला गरेको थियो । तर पनि वडाध्यक्ष राजवंशीले वडाको कामकारबाही निरन्तर गरिरहेकाले तालाबन्दी गरिएको कांग्रेस वडा सभापति चेतनाथ भट्टराईले जानकारी दिनुभयो ।
सम्मानित अदालतको आदेश पालना गरेर विधिको शासन कायम हुनुपर्ने आफूहरुको माग रहेको सभापति भट्टराईले बताउनुभयो । “विधिको शासनविपरीत वडाध्यक्ष राजवंशीले वडा कार्यालयमा काम कारबाही गर्नु अदालतमाथि अपमान हो”, उहाँले भन्नुभयो, “विधिको शासन स्थापित गर्न वडा कार्यालयमा तालाबन्दी गरेका हौँ ।”
कांग्रेस महाधिवेशन प्रतिनिधि गोमा भट्टराईले न्यायपालिकाको फैसला अनुसार वडाध्यक्ष चल्नु पर्ने धारणा राख्नुभयो । यता, वडाध्यक्ष राजवंशीले अदालतको फैसला बारेमा कहीँबाट आफूलाई लिखित प्रमाणित जानकारी नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “लिखित जानकारी आएको छैन, म वडाको काम कारबाही रोक्दिँन ।”
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



