
बनियानी, २१ फागुन । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले खेलकुद क्षेत्रलाई राजनीतिबाट पृथक राख्नुपर्ने बताउनुभएको छ ।
झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आजदेखि जारी नेपाल आइस पाँचौँ झापा गोल्डकपको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले त्यस्तो बताउनुभएको हो । “खेलकुद एउटा पोलिटिकल पार्टी होइन, खेलकुदलाई राजनीतिबाट पृथक राख्नुपर्छ”, उहाँले भन्नुभयो, “खेलकुदको विकासका लागि सबै पार्टी, सबै संघसंस्था र सरोकारवालाई लाग्न म आग्रह गर्छु ।”
खेलकुद क्षेत्रको विकास सबैको चासो–चिन्ता र उन्नतीको विषय भएको उहाँले उल्लेख गर्नुभयो । अध्यक्ष ओलीले खेलकुद क्षेत्रको विकासमा आफू सदैव लागिपरेको र लागि पर्ने धारणा राख्नुभयो ।

झापा गोल्डकपको सफताको कामना गर्दै अध्यक्ष ओलीले खेलाडीहरुलाई इमान्दार भएर खेल्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “खेलमा दक्षता प्रयोग गर्नुहोस्, कपट होइन, दक्षताबाटै खेल जित्न म आग्रह गर्छु ।” आफ्नो पार्टी नेकपा एमालेले खेल क्षेत्रको विकासलाई विशेष महत्व दिएको उहाँको भनाइ थियो ।
रंंगशाला निर्माणका लागि डोमालाल राजवंशीको परिवार दान दिएको जग्गामा कसैले आँखा नलाउन उहाँले आग्रह गर्नुभयो । “म डोमालाल राजवंशी परिवारलाई धन्यवाद दिन्छु, जसले जग्गा दान दिएर रंगशाला बनेको छ”, उहाँले भन्नुभयो, “ अरुले दान दिएको जग्गामा कसैले आँखा लगाउनु हुँदैन ।”
विभिन्न १० वटा सहभागी पाँचौं संस्करणको झापा गोल्डकपको विजेताले नगद रू १२ लाख ५५ हजार र उपविजेताले नगद रू ६ लाख ५ हजार पुरस्कार प्राप्त गर्ने छन् । साथै, मस्ट भ्यालुएबल प्लेयरलाई एउटा मोटरसाइकल, उत्कृष्ट गोलकिप्पर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई जनही नगद २१ हजार, उच्च गोलकर्तालाई नगद २५ हजार तथा प्रत्येक खेलको म्यान अफ् द म्याचलाई नगद ९ हजार ९ सय ९९ रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । रासस
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



