
बिर्तामोड, १८ जेठ । नेकपा एकीकृत समाजवादी नगर कमिटी बिर्तामोडले झापाको बिर्तामोड नगरपालिकामा नवनिर्वाचन जनप्रतिनिधिलाई बधाइ दिएको छ ।
पार्टीले बधाई तथा शुभकामनाका साथ बिर्तामोडमा देखिएका समास्या समाधान गर्न ज्ञापन पत्र समेत बुझाएको छ । पार्टीका नगर अध्यक्ष श्रीप्रसाद सिटौला, नगर इञ्चार्ज श्री मिश्र, सचिव कृष्ण विष्ट, पार्टीका जिल्ला प्रचार विभाग प्रमुख तीर्थ सिग्देल लगायतको टोलीले ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्रमा नगरका समस्या समाधान गर्न नवनिर्वाचित जनप्रतिनिधिहरु दत्तचित्त भएर लाग्नुहुने कुरामा आशावादी रहेको जनाइएको छ ।
‘समुन्नत, सभ्य र समृद्ध नगर निर्माण गर्न सकारात्मक भूमिका निर्वाह गर्न सक्नुहोस् भन्ने शुभेच्छा पनि प्रकट गर्दछौं’, ज्ञापन पत्रमा भनिएको छ, ‘तसर्थ यसै नयाँ परिवेशमा हाम्रो पार्टीको तर्फबाट बिर्तामोडमा देखा परेका निम्न समस्या समाधान गर्न आग्रह गर्दै यो ज्ञापन पत्र पेश गरेका छौं ।’
यस्तो ज्ञापन पत्रमा उल्लेख बुँदाहरु
१. बिर्तामोड नगरपालिका फोहोर मैलाको ब्यवस्थापनजस्तो बिषयलाई निजी क्षेत्रलाई सुम्पिएर आफ्नो दायित्वबाट पन्छिएको ठहर गर्दै हालको ब्यवस्था खारेज गरेर नगरपालिकाकै संयन्त्रद्धारा फोहोर मैलाको ब्यवस्थापन गर्ने ब्यवस्था गरियोस् । साथै जनतालाई करमाथि कर थोपर्ने गरी फोहोर मैला उठाउने नाममा लिइने शुल्क तत्काल हटाइयोस् ।
२. बिर्तामोडको सडक बिभागमा रहेको सरकारी जग्गामा सार्वजनिक शौचालय बनाउन सर्वपक्षिय छलफलको प्रारम्भ गरि तत्काल निर्माण कार्य थालनी गरियोस् ।
३. कृषि, पशुपालक किसानलाई मल, बिऊ समयमै उपलब्ध हुने वातावरण मिलाइयोस् । कृषि बिमा, पशु बिमाजस्ता सहुलियत उपलब्ध गराउन तत्काल पहल थालियोस् । कृषि औजार र अन्य उपकरण प्रदान गरियोस् ।
४. बिर्तामोडको नगर अस्पतालको निर्माण कार्यमा भइरहेको ढिलासुस्ती हटाएर निर्माण कार्यलाई तीब्रता दिइयोस् र सो अस्पताललाई बिमाको केन्द्र बनाउन पहल थालियोस् ।
५. सुकुम्बासी, भूमिहिन, घरबारबिहीनहरुको तथ्यांक लिएर भूमी आयोगसँगको समन्वयमा तत्कालै धनीपूर्जा बितरण गर्न पहल गरियोस् । हाल भूमी आयोगमा पुर्याउनुपर्ने त्यस्ता फाइलहरु नगरपालिकामै थन्किएको भन्ने सूचना आएकोमा त्यसो भएको भए ती फाइल तत्काल आयोगमा पठाएर चाँडै सुकुम्बासीहरुलाई नगरबासी बनाउने अभियानको थालनी गरियोस् ।
६. नगरपालिका जनप्रतिनिधीबिहीन भएको र मुलुक निर्बाचनमा होमिएको समयमा गरिएको निजी क्षेत्रका स्कुलहरुको मनपरी र हचुवा तरिकाले गरिएको शुल्क बृद्धि फिर्ता लिने ब्यवस्था होस् । र, त्यसरी गरिएको निर्णय सार्वजनिक गर्दै पुनः सर्बदलीय, सर्वपक्षीय र अभिभावकहरुको बैठकद्धारा बैज्ञानिक तरिकाले शुल्क समायोजन गर्ने निर्णय गरियोस् ।
७. नगरका बिभिन्न क्षेत्रमा खानेपानी, बिजुलीको अझै पनि अभाव छ । त्यसका लागि यथोचित बजेटको ब्यवस्था गरियोस् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



