
झापा, २३ असार । निर्वाचन आयोगले आगामी मंसिर २ गतेका लागि प्रदेश र संघको निर्वाचनको मिति प्रस्ताव गरेको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्रीसहितको छलफलमा आयोगका पदाधिकारीले मंसिर २ गतेका लागि चुनावको मिति प्रस्ताव गरेका हुन् ।
आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन एकै चरणमा सम्पन्न गर्ने गरी मिति तोक्न सरकारलाई परामर्श दिएको हो । निर्वाचन आयोग ऐन, २०७३ तथा निर्वाचन सम्बन्धी कानुनमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको मिति निर्वाचन आयोगको परामर्शमा नेपाल सरकारले तोक्ने व्यवस्था छ ।
आयोगले सरकारसँग १० अर्ब खर्चको व्यवस्था गर्न माग गरेको छ । गत स्थानीय तहमा ७ अर्ब ८० करोड रुपैयाँ खर्च भए पनि अहिले महँगी बढेकोले बजेट बढाउन माग गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिए । आयोगले अघिल्लो चुनावभन्दा २ अर्ब २० करोड रुपैयाँ बढी माग गरेको हो ।
यसैबीच निर्वाचनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने हो भने साउन महिनाभित्र त्यस्ता मेसिनको व्यवस्था गर्न आयोगले सरकारलाई आग्रह गरेको छ । नेपालमै बनेको मेसिन प्रयोग गर्ने वा विदेशबाट मगाउने हो भन्ने बारेमा साउनभित्र आयोगलाई उपलब्ध गराउन आग्रह गरेको आयोगका प्रवक्ता शर्माले जानकारी दिए । नेपालमा बनेको विद्युतीय भोटिङ मेसिन प्रयोगको पनि प्रस्ताव आएकाले त्यसको विश्वसनियताबारे राजनीतिक रुपमा निर्णय हुनुपर्ने आयोगले प्रस्ट पारेको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



