
झापा, २९ असार । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले श्रमिकको योगदान र रोजगारदाताको सुरक्षालाई समन्वय गरेर लैजानुपर्ने बताएका छन्। कैलाली उद्योग वाणिज्य सङ्घद्वारा आज धनगढीमा आयोजित स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै उनले श्रमिकको योगदानको कदर गर्ने र रोजगारदातालाई सम्मान गर्ने नीति सरकारको रहेको जानकारी दिए।
मन्त्री कुँवरले केही दिनअघि मात्रै श्रमिकहरुको उपचार खर्च वापतको रकम अनलाइन प्रणालीबाट भुक्तानी गर्ने व्यवस्था मिलाइएको जानकारी दिए । उनले भने, “अहिले २६ अस्पताललाई अनुमति दिइएको छ र ती मध्ये १८ अस्पताल अनलाइन प्रणालीमा आइसकेका छन् ।”
उनले देशभरिका अस्पताललाई पनि त्यो अनुमति दिने र त्यो अनुमति दिइसकेपछि सामान्य उपचारका लागि २० प्रतिशत खर्च बिरामीले र ८० प्रतिशत खर्च सामाजिक सुरक्षा कोषले व्यहोर्ने गरी कार्य सुरु भएको बताए । उनले सांस्कृतिककर्मी र सञ्चारकर्मी लागि पनि सामाजिक सुरक्षामा आवद्ध गरिने जानकारी दिए । रासस
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



