
सन्तोष शर्मा
भद्रपुर, ८ साउन । झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालको एम्बुलेन्स बिग्रिएर थन्किएको छ ।
अस्पतालद्वारा सञ्चालित दुई वटै एम्बुलेन्स एक वर्षअघि देखि बिग्रिएर थन्किएको हो । लामो समयदेखि एम्बुलेन्स सेवा अवरुद्ध हुँदा दूरदराजक बिरामी मारमा परेका छन् । नेपाल–भारत मैत्री संघमार्फत् प्राप्त विसं. २०५४ साल र विसं. २०६४ मा एक÷एक वटा गरी मेची अस्पतालमार्फत् दुई वटा एम्बुलेन्स सञ्चालित थियो । तर, एउटा करिब आठ वर्षअघि र एउटा एक वर्षअघि बिग्रिएर थन्किएको छ ।
बिग्रएका ती एम्बुलेन्स बनाउने अवस्था समेत नरहेको अस्पताल प्रशासनका सूचना अधिकारी मनोज पोखरेलले बताउनुभयो । “एम्बुलेन्स बनाउने कण्डिसमै छैन”, उहाँले भन्नुभयो, “त्यसैले मर्मत गरिएको छैन ।”
अस्पतालको एम्बुलेन्स बिग्रिए पनि एम्बुलेन्स चालकहरुले भने तलब बुझिरहेको अस्पताल स्रोतले जनाएको छ । सँगै एम्बुलेन्स बिग्रिए पनि सोको व्यवस्थापनका लागि व्यवस्थापन समिति, अस्पताल प्रशासन र स्थानीय सरकार कहीँकतैबाट पहल नभएको अस्पतालका कर्मचारी बताउँछन् ।
प्रदेश नं. १ सरकारले अस्पताललाई एउटा एम्बुलेन्स र एउटा शववाहन दिने जनाए पनि सो लिनका लागि समेत पहल नगरिएको अस्पताल स्रोतको भनाइ छ ।
मेची अस्पताल सरकारीस्तरबाट सञ्चालित तत्कालीन मेची अञ्चलकै ठूलो अस्पताल हो । मुलुक संघीय संरचना गएपछि यसलाई प्रादेशिक अस्पतालको रुपमा स्तरोन्नती गरिएको छ । प्रदेश र संघीय सरकारले अस्पताललाई सुविधा सम्पन्न बनाउन उपकरण र भौतिक संरचरना निर्माणका लागि अनुदान दिँदै आएको छ । तर, अस्पतालको व्यवस्थापन पक्ष पितलो हुँदा अस्पताल लथालिंग अवस्थामा रहेको छ ।
सरकार परिवर्तनसँगै आउने नयाँ व्यवस्थापन समितिले अस्पताल कर्मचारी भर्ती केन्द्र जस्तै बनेको छ । अस्पतालमा एकातिर आवश्यकता भन्दा बढी कर्मचारी छ भने अर्कातिर ‘सिनियर’ र ‘जुनियर’ कर्मचारीको नाममा काम नै प्रभावित हुने गरेको स्वयम् अस्पतालका कर्मचारी स्वीकार गर्छन् ।
भद्रपुरमा सरकारी÷संस्थागत रुपमा भद्रपुर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी झापा शाखाको एक÷एक वटा एम्बुलेन्स सञ्चालनमा रहेको नेपाल रेडक्रस सोसाइटी उप शाखा भद्रपुरका सभापति गोपाल गिरीले बताउनुभयो ।
“केही एम्बुलेन्स निजी रुपमा समेत सञ्चालित छन्”, उहाँले भन्नुभयो, “सरकारले भाडादर निर्धारण गरे पनि एक रुपता छैन ।” प्रभावकारी रुपमा अनुगमन नहुँदा एम्बुलेन्स जस्तो संवेदनशील क्षेत्रमा समेत धेरै विकृति बढेको उहाँको भनाइ छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



