
बिर्तामोड, ९ साउन । नेकपा (माओवादी केन्द्र) का नेता राम कार्की पार्थले बद्धाश्रममा गएर ज्येष्ठ नागरिकको सेवा गर्नुपर्नेमा जोड दिनुभएको छ ।
झापाको बिर्तामोडस्थित नरबहादुर कर्माचार्य स्मृति बहुप्राविधिक शिक्षालयद्वारा आज यहाँ आयोजित ‘बृद्धाश्रममा आश्रित बृद्धबृद्धालाई खाद्यन्न वितरण’ कार्यक्रममा नेता कार्कीले त्यस्तो जोड दिनुभएको हो ।
“शिक्षालयमा अध्ययनरत विद्यार्थीले दिनमा एक घण्टा बृद्धाश्रममा आएर बुबाआमाको सेवा गर्न आग्रह गर्छु”, पूर्व सञ्चारमन्त्री तथा पार्टीका १ नं. प्रदेश इञ्चार्ज समेत रहनुभएका नेता कार्कीले भन्नुभयो, “दिनमा एक घण्टा पनि नभए वर्षमा २० घण्टा एक जना विद्यार्थीले उहाँहरुको सेवा गरौं ।”
ज्येष्ठ नागरिकको सम्मान कम्युनिष्ट संस्कार रहेको उल्लेख गर्दै उहाँले स्थानीय तहमा कम्युनिष्ट जनप्रतिनिधि भए पनि बृद्धाश्रमप्रति चासो नदिइनु दुःख रहेको बताउनुभयो ।
शिक्षालयले नरबहादुर कर्माचार्यको ९औं स्मृति दिवसको अवसर बिर्तामोड–४ स्थित परोपकार तथा अनुसन्धान केन्द्रद्वारा सञ्चालित बृद्धाश्रममा रहेका बृद्धबृद्धाका लागि खाद्यन्न सहयोग स्वरुप प्रदान गरिएको शिक्षालयका अध्यक्ष ज्योतिसिंह दर्लामीले बताउनुभयो ।
नरबहादुर कर्माचार्य नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ, निरञ्जन गोविन्द बैद्य र नारायण विलास जोशीका समकालीन नेता हुन् । उहाँको स्मृतिमा स्थापना भएको नरबहादुर कर्माचार्य स्मृति बहुप्राविधिक शिक्षालयले बाली, पशु र वनका विषयमा शिक्षा प्रदान गर्दै आएको छ । सँगै होटल व्यवस्थापन र फार्मेसी कक्षा सञ्चालनमा ल्याउने तयारी अध्यक्ष दर्लामीले बताउनुभयो ।
आश्रममा हाल १२ जना बृद्ध र १४ बृद्धा गरी जम्मा २६ जना आश्रित रहेको बृद्धाश्रमका कार्यालय सचिव बेनुप्रसाद भट्टराईले जानकारी दिनुभयो । उनीहरुको स्यारसुसारका लागि चार जना कर्मचारी कार्यरत छन् भने विभिन्न सामाजिक संघसंस्था तथा व्यक्तिको स्वेच्छिक सहयोगबाट आश्रमको. व्यवस्थापन हुँदै आएको छ ।
कार्यक्रममा शिक्षालयका कोषाध्यक्ष प्रकाश भट्टराई, नेकपा (माओवादी केन्द्र) बिर्तामोड नगर उपाध्यक्ष कमलप्रसाद कडरिया लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन शिक्षालयका सचिव जयप्रसाद भट्टराईले गर्नुभएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



