
दमक, १३ साउन । शहरी विकास मन्त्री मेटमणि चौधरीले पाँच दलीय गठबन्धन आगामी निर्वाचन सम्ममा ६ दलीय गठबन्धनका रुपमा विकास हुने बताएका छन् ।
नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य समेत रहनुभएका मन्त्री चौधरीले लोकतान्त्रिक समाजवादी पार्टी समेत यो गठबन्धनमा आवद्ध भएर निर्वाचनमा जाने बताउनुभयो । झापाको दमक र आसपासकमलका महत्वपूर्ण योजनाहरुको स्थलगत निरीक्षणपछि समाजवादी प्रेस संगठन झापाले आज दमकमा आयोजना गरेको पत्रकार भेटघाटमा मन्त्री चौधरीले यो गठबन्धन यो निर्वाचनमा मात्रै नभएर अरु १०–१५ वर्ष सम्म पनि जान सक्ने बताए ।
संघ र प्रदेशको आगामी निर्वाचन मसिंर वा फागुनमा हुन सक्ने मन्त्री चौधरीले संकेत गरे । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच चलेको एकीकरण सम्बन्धिको चर्चाले दलीय गठबन्धनमा नकारात्मक असर नपार्ने उनको स्पोष्टोक्ति छ । संसदीय व्यवस्थालाई कायम राख्न पनि केपी ओली नेतृत्वको एमाले इतरमा रहेका अन्य दलहरु एक ठाउँमा उभिनु पर्ने अवस्था आएको उल्लेख गरे ।
उनले नेकपा एमाले पनि तत्कालिन अवस्थामा अन्य ८÷९ दलसंगको सहकार्यबाट मात्रै ठुलो दलका रुपमा स्थापित भएको स्मरण गर्दै मन्त्री चौधरीले एमाले अध्यक्ष ओलीले कार्यकर्ता र आफना सांसदहरुलाई समेत ढाँटेर एक्लै ठुलो पार्टी बनेको भनेर भ्रम छरेको टिप्पणी गरे ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



