
भद्रपुर, २१ साउन । झापाका स्वास्थ्य व्यवसायी दुर्गा प्रसाईंले आज सामाजिक सञ्चाल फेसबुकमा स्टाटस ‘राप्रपाको राजधानी मानिएको कचनकवल गाउँपालिकाको पूर्व मेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्य अन्जार आलम नेकपा एमालेमा प्रवेश गरेका छ्न्’ भनेर पोस्ट गरेका छन् ।
राप्रपाबाट पहिलो स्थानीय तह चुनावमा जितेर पाँच वर्ष स्थानीय सरकारको भोग गरेका आलम एमालेमा प्रवेशको खबरले झापामा तरंग उत्पन्न भएको छ । राप्रपाबाटै दोस्रो स्थानीय तह चुनावमा टिकट पाएका आलम राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको खरो समर्थक हुन् । चुनावमा पराजित भएको ताजा अवस्थामा आलम एमाले प्रवेशको खबरले पार्टीका नेता–कार्यकता अच्चमित भएका छन् ।

कचकवलमा स्थानीय तहको चुनावी परिणामले पार्टी कमजोर भएको देखिएपछि अर्को स्थानीय चुनावमा फेरी ‘नेतृत्व भोग गर्न पाउने’ लालसाले उनी एमालेमा प्रवेश गरेको हुन सक्ने आशंका गरिएको छ । प्रसाईंकै स्टाटसमा ‘केन्द्रीय सदस्य आलमसहित केही नेता तथा कार्यकर्ताहरुलाई एमाले अध्यक्ष केपी ओलि तथा केन्द्रीय सदस्य दुर्गा प्रसाइंले पार्टी प्रवेश गराएका हुन्’ भनेर लेखिएको छ भने सँगै ‘चुनावको मुखमा आलमको एमाले प्रवेशले झापा क्षेत्र नं. ३ मा राप्रपाको आम नेता–कार्यकर्तामाझ हलचल मच्चिएकोछ भने उक्त स्थानमा एमाले नेता दुर्गा प्रसाँइको प्रभाव प्रष्ट देखिएको छ’ उल्लेख छ ।
स्थानीय तह चुनावको परिणाम पछि अन्तरघात वा हराउनुमा पार्टीकै कमजोरी लगायतका विषयमा खासै जिल्लामा चर्चा परिचर्चा सुनिएको थिएन । तर, स्वार्थ मिल्दा ‘राजनीतिमा कोही स्थायी सत्रु वा मित्र हुँदैन’ भन्ने भनाइ नेपालका सबै पार्टीका नेता–कार्यकर्तामा देखिँदै आएकाले यो पनि सोही शृङ्खला मात्र भएको राजनीति बुझ्नेहरुको भनाइ छ ।
विभिन्न समयमा ‘अनाब सनाब’ बोलेर चर्चामा आइरहने प्रसाईंको यो अर्को ‘स्टन्ट’ हो वा के हो त्यो सार्वजनिक हुने नै छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



