
बिर्तामोड, २ भदौ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आसन्न संघ र प्रदेशको चुनावमा कुनै पनि दलसँग गठबन्धन नगर्ने बताउनुभएको छ ।
झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष ओली त्यस्तो बताउनुभएको हो । “हामी गठबन्धन गर्दैनौं”, उहाँले भन्नुभयो, “गठबन्धन भन्ने कुरा नै मन पाउँदैनौं ।”
गठबन्धन अपवित्र कुरा भन्दै उहाँले गठबन्धनको कुनै गन्तव्य नहुने उल्लेख गर्नुभयो । “हामी आफैँ चुनाव लड्छौं, आफैंँ जित्छौँ”, उहाँले भन्नुभयो, “एक्लै चुनाव लड्ने क्षमता एमालेमा मात्र छ ।” पार्टी सक्षम र सुदृढ हुनुका साथै जनलहर पनि पार्टीतर्फ भएकाले एमालेले एक्लै चुनाव लड्ने उहाँको भनाइ छ ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन तपाईंलाई भेट्न बालकोट जानुभएको थियो नि भन्ने पत्रकारको प्रश्नमा उहाँले भन्नुभयो, “गठबन्धन बनाउने कुरा भएन ।”
राष्ट्रपतिले नागरिकता विधेयक संशोधनका लागि मात्र फिर्ता पठाउँदा गठबन्धनको सरकारलाई जस्ताकोतस्तै पास गर्ने भन्दै बल प्रदर्शन गर्न खोजेको अध्यक्ष ओलीले आरोप लगाउनुभयो । बहुमतको आधारमा राष्ट्रिय हितविरुद्ध सरकारले आफूखुसी गर्न खोजेको उहाँको भनाइ छ । “संसदभन्दा बाहिर बसेर निर्णय गर्ने एउटा गुट बसेको छ”, उहाँले भन्नुभयो, “अलोकतान्त्रिक गैरसंसदीय अभ्यास भइरहेको छ ।”
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



